काठमाडौँ – नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्तिका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । गभर्नर सिफासिरस समितिले गभर्नरका लागि मंगल बार विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
मंगलबार अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको छ । जसमध्ये पहिलो नम्बरमा विश्व पौडेल रहेका छन् भने दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराई सिफारिसमा परेका छन् ।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको पदावधि गत चैत्र अन्तिम साता सकिए पनि एमाले र काँग्रेसबीचको भागबण्डाको किचलोका कारण नयाँ गभर्नरको नियुक्ति हुन सकेको छैन।
यसअघि काँग्रेसले सिफारिस गरेका पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्माओली तयार नदेखिएपछि काँग्रसले उनको विकल्पमा पौडेलको नाम अघि सारेको थियो । त्यसका लागि गभर्नर सिफारिस समितिका रहेका पौडेलले समितिबाट राजीनामा दिएका थिए ।