काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने गरी बजेट आउनुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदै गुरुङले ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य गर्दै ऋण लिएर उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने नीतिका साथ बजेट आउनुपर्ने बताएका हुन् ।
उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने उनले बताए । उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखिएको भन्दै गुरुङले यही कारण राजस्व र चालु खर्चबिच ठूलो खाडल देखिएको उल्लेख गरे ।
उनले राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नका ध्यान दिनुपर्ने बताए ।
त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले ठूला आयोजना थोरै र स्थानीय आवश्यकताका आधारमा साना आयोजना धेरै राखेर बजेट आउनुपर्ने बताए । स्थानीय तहमा बजेट बढाएर स्थानीय तहको विकास गर्न सके मात्रै समग्र मुलुकको विकास गर्न सकिने उनले बताए । उनले प्राकृतिक स्रोत साधनलाई उपयोग गरेर उद्योग बिकास गर्ने नीति लिनुपर्ने, सरकार दल र व्यवस्थाप्रति जनताको विश्वास बढ्ने गरि सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आयोजना थप्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले जनतामा निराशा छाएको भन्दै यसमा ध्यान दिनुपर्ने बताए । उनले प्रविधिको विकाससंगै यसलाई पनि सरकारले प्राथमिकतामा राखेर बजेट निर्धारण गर्न सुझाव दिए ।
त्यस्तै अन्य सांसदहरुले विशेष योजना र कार्यक्रमकासाथ अर्थतन्त्रलाई बलियो बनाउने गरी आगामी वर्षको बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिएका थिए ।