काठमाडौंँ– भारत सरकारद्वारा मुम्बईमा आयोजित ‘वेभ्स २०२५’ शिखर सम्मेलनमा नेपालबाट सरकार, सञ्चार, चलचित्र, एनिमेसन र सामाजिक सञ्जाल क्षेत्रका १९ जना वरिष्ठ प्रतिनिधिहरूले सहभागिता जनाएका छन्।
सम्मेलन २०८२ साल वैशाख १८ देखि २१ गतेसम्म आयोजना गरिएको थियो।
उक्त सम्मेलनमा नेपाली प्रतिनिधिहरूले विश्वका प्रमुख सीईओ, मिडिया रणनीतिकारहरू र डिजिटल उद्यमीहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै मिडिया, मनोरञ्जन र प्रविधिमा भारतले हासिल गरेको प्रगतिको अवलोकन गरे।
नेपालबाट सहभागिता जनाउनेहरूमा सरकारी अधिकारीहरू, चर्चित मिडिया व्यक्तित्व, फिल्म निर्माता, सोसल मिडिया इन्फ्लुएन्सर तथा एनिमेसन उद्योगसँग सम्बन्धित पेशेवरहरू रहेका थिए। उनीहरूले सम्मेलनका विभिन्न सत्रहरूमा सक्रिय सहभागिता जनाए।
‘वेभ्स २०२५’ ले चलचित्र निर्माण, कन्टेन्ट क्रियसन, एनिमेसन तथा डिजिटल मिडिया क्षेत्रमा नेपाल–भारत सहकार्यलाई नयाँ दिशा दिने सम्भावनाको ढोका खोलेको सहभागीहरूको धारणा छ।
सम्मेलनमा प्राप्त अनुभव र अन्तर्दृष्टिहरू नेपाली प्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत साझा गरेका छन्, जसले आगामी दिनमा दुई देशबीच सृजनात्मक सहकार्यलाई अझ प्रगाढ बनाउन सक्ने विश्वास गरिएको छ।