रौतहट– रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय व्यवहार गरिएको घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।


ADVERTISEMENT


सामाजिक सञ्जालमा सार्वजनिक भएको ४१ सेकेन्डको भिडिओले व्यापक चासो र आक्रोश सिर्जना गरेको छ। भिडियोमा देखिएअनुसार तीन जनाले एक व्यक्तिलाई लडाएर समातिरहेका छन् भने अर्को एक व्यक्तिले ती व्यक्तिको पैतलामा पाइप जस्तो देखिने लट्ठीले निर्घात कुटपिट गरिरहेको स्पष्ट देखिन्छ।


ADVERTISEMENT

# # #


कुटपिटको क्रममा पृष्ठभूमिमा संगीत बजाइएको सुनिन्छ, जसको उद्देश्य पीडितको चिच्याएको आवाज ढाक्ने भएको अनुमान गरिएको छ। यस्तो अमानवीय व्यवहार सुधार केन्द्रमा भएको देखिएकोले यसले सुधार केन्द्रहरूको नियमन, निगरानी र मानवअधिकारको अवस्था माथि गम्भीर प्रश्न उठाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपक कुमार रायले भिडिओ प्रहरीको ध्यानमा आएसँगै घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार सुधार केन्द्रका सञ्चालकलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर प्रारम्भिक सोधपुछ थालिएको छ।

डिएसपी रायले भने, “भिडिओको सत्यता पुष्टि गर्न अनुसन्धान भइरहेको छ। प्रारम्भिक विवरणअनुसार घटनास्थल र संलग्न व्यक्तिहरूबारे थप तथ्य संकलन गरिरहेका छौं। सत्यता पत्ता लागेपछि कानुनी कारबाही अघि बढाइनेछ।”

यस घटनाले सुधार केन्द्रका नाममा सञ्चालन भइरहेका निजी संस्थाहरूको पारदर्शिता, नैतिकता र मानव अधिकारप्रति प्रतिबद्धता कति विश्वसनीय छ भन्ने प्रश्न उठाएको छ। यस्ता संस्थाहरूमा भइरहेको गतिविधिको निगरानी गर्न राज्यका निकायहरू अझ संवेदनशील र जिम्मेवार हुनुपर्ने देखिएको छ।