काठमाडौँ– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह सुविधा नदिने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार मन्त्रालयमा नेपाल चिकित्सक संघको टोलीसँगको छलफलका क्रममा मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी सरह सुविधा दिने निर्णय सवैले कार्यान्वयन गर्नुपर्ने भन्दै सरकारको निर्णय कार्यान्वयन नगर्ने निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका हुन् ।
चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्छ । नेपाल चिकित्सक कर्मचारीहरुलाई ८औँ सरह नै भत्ता दिनुपर्ने उनले स्पष्ट पारे ।
उनले सरकारको निर्णय कार्यान्वयन गराइछाड्न उल्लेख गर्दै चिकित्सकहरुलाई उपचार सेवामा फर्किन आग्रह गरे ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरकारको निर्णय अझै पनि कार्यन्वयन नभएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिए । आवासीय चिकित्सकका बिषयमा सरोकारवाला सवैको ध्यानाकर्षण गराउदा पनि कार्यान्वयन हुन नसक्नु दुःखद अवस्था रहेको उनको भनाई छ ।
यसअघि बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह स्वास्थ्य सेवाको आठौँ तह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर उक्त निर्णय कार्यान्वयन नभएको भन्दै चिकित्सक आन्दोलनमा छन् ।