काठमाडौँ — भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिन्सा साहको निधनपछि भारत सरकारले घटनाप्रति दुःख व्यक्त गर्दै ओडिशा राज्य सरकारसँग निरन्तर समन्वयमा रहेको जनाएको छ।


ADVERTISEMENT


भारतीय विदेश मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रिन्सा साहको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको हो। “भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयकी नेपाली विद्यार्थीको दुःखद निधनले हामी अत्यन्तै दुःखी भएका छौं,” विज्ञप्तिमा उल्लेख छ। भारतले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।


ADVERTISEMENT

# # #


विज्ञप्तिअनुसार घटनाको जानकारी प्राप्त भएपछि भारतको विदेश मन्त्रालयले ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्क गरिरहेको र मृतकको परिवारलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराइएको छ। साथै ओडिशा प्रहरीले घटनाको विस्तृत अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

“भारत सरकार अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा, हित र कल्याणप्रति पूर्ण प्रतिबद्ध छ,” विज्ञप्तिमा भनिएको छ, “हामी यो घटनाबारे नेपाली अधिकारी, ओडिशा राज्य सरकार तथा केआईआईटी विश्वविद्यालयको व्यवस्थापनसँग नजिकबाट समन्वय गरिरहेका छौं।”

नेपालकी वीरगञ्ज निवासी प्रिन्सा साह केआईआईटी विश्वविद्यालयमा स्नातक पहिलो वर्षमा अध्ययनरत थिइन्। बिहीबार साँझ उनी विश्वविद्यालयको छात्रावासमा मृत फेला परेकी थिइन्। घटनाको कारण अझै सार्वजनिक भइनसकेको अवस्थामा यसप्रति अन्तर्राष्ट्रिय चासो बढ्दो छ।