काठमाडौँ– आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव-पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।
यसैबीच, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जौ, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ ।
पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् । आज सुन, शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने शास्त्रमा वर्णन भएको जानिफकारहरुको कथन छ ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।
यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो ।
गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।
आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ ।
सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ । त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख छ ।