काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासंघसँगको वार्ता एक–दुई दिनभित्रै निष्कर्षमा पुग्नेमा आफू विश्वस्त रहेको बताएका छन्।


ADVERTISEMENT


उनका अनुसार शिक्षकका माग सम्बोधनका लागि सरकार, पार्टी र सम्बन्धित निकायबीच गम्भीर र सघन छलफल भइरहेको छ। विद्यालय शिक्षा विधेयकबारे कांग्रेसको धारणा तय गर्नेक्रममा सानेपास्थित पार्टी कार्यालयमा भ्रातृ तथा शुभेच्छुक संस्थासँगको छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।


ADVERTISEMENT

# # #


महरले शिक्षाको गुणस्तर कायम राख्न र विद्यार्थीको भविष्य सुरक्षित गर्न आन्दोलनको चाँडो निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए। “शिक्षकका जायज मागप्रति सरकार गम्भीर भएर वार्ता अघि बढाइरहेको छ। आन्दोलनकै कारण लाखौं विद्यार्थी प्रभावित भइरहेका छन्, अब यसलाई चाँडो निष्कर्षमा पुर्‍याउनु अपरिहार्य छ,” उनले भने।

उनका अनुसार कांग्रेसले नियमित भर्ना प्रक्रिया र कक्षा १२ को परीक्षा प्रभावित नहुने गरी वार्ता सफल बनाउने प्रयास गरिरहेको छ। उनले सरकारलाई समेत समस्या समाधानमा संवेदनशील र प्रतिबद्ध हुन आग्रह गरे।

शिक्षा विधेयकका सन्दर्भमा महरले पार्टीको स्पष्ट धारणा बनाउन आवश्यक परामर्श र अन्तर्क्रिया भइरहेको जानकारी दिए। उनका अनुसार संविधानले सुनिश्चित गरेको १२ कक्षासम्मको निःशुल्क शिक्षा कार्यान्वयन, निजी लगानीको संरक्षण, शिक्षामा २० प्रतिशतभन्दा बढी बजेट विनियोजन, विदेशी विश्वविद्यालय तथा शैक्षिक परामर्शदातृ संस्थाको नियमन, प्राविधिक र जीवन उपयोगी शिक्षाको प्रवर्द्धन लगायत विषयमा कांग्रेसको धारणा तयार पारिँदैछ।

एकै प्रकारका शिक्षक व्यवस्थापन, सेवा सुविधा, बढुवा प्रक्रिया लगायतका मागप्रति कांग्रेस सकारात्मक रहेको उनले बताए। उनले शिक्षाको गुणस्तर सुधारमा शिक्षक स्वयंको जिम्मेवारी र भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गर्दै भने, “शिक्षकको योगदान बिना गुणस्तरीय शिक्षा सम्भव छैन। त्यसैले कर्तव्य र अधिकार दुबैप्रति गम्भीर हुनुपर्छ।”

महरले कांग्रेस शिक्षाको सुधार र शिक्षकका समस्या समाधानमा दृढ रहेको प्रस्ट पार्दै निष्कर्षमुखी वार्ताको अपेक्षा गरिएको बताए। “शिक्षकका माग सम्बोधन र शिक्षा क्षेत्रको समग्र सुधारका लागि कांग्रेस गम्भीर छलफलमा जुटिरहेको छ,” उनले भने, “समाजले अपेक्षा गरेको उन्नत शिक्षा प्रणाली निर्माण गर्न हामी प्रतिबद्ध छौं र आशा छ, चाँडै सकारात्मक समाधान निस्कनेछ।”