दाङ– दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को उपाधिका लागि दाङ र रुपन्देहीको टिम भिड्ने भएका छन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा दाङमा जारी प्रतियोगिता अन्तरगत बुधबार सेमिफाइनलका खेल सकिएसँगै फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको हो । सेमिफाइनलका खेल अन्तरगत घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा भएको खेलमा कपिलवस्तुलाई ६ विकेटले हराउँदै दाङले फाइनल यात्रा तय गरेको छ ।
कपिलवस्तुले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको दाङले उक्त लक्ष्य १७ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तुले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।
यसैगरी, बुधबार भएको अर्को सेमिफाइनलमा बर्दियालाई ७ विकेटले हराउँदै रुपन्देही फाइनल प्रवेश गरेको छ । लमही –५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा बर्दियालाई ७ विकेटले हराउँदै रुपन्देहीले फाइनल यात्रा तय गरेको हो । बर्दियाले दिएको ७७ रनको सामान्य लक्ष्य पछ्याएको रुपन्देहीले उक्त लक्ष्य ९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो ।
फाइनल खेल लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहीबार हुने आयोजकले जनाएको छ ।