काठमाडौँ– रंगहरुको पर्व होली सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा चिर ठड्याएसंगै होली पर्व शुभारम्भ गरिएको हो ।
शुक्रबार काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको हो । शुक्रबार बिहान ८ बजेर ३३ मिनेटको शुभसाइतमा मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर एक अर्कालाई अबिर लगाइ होली सुरु भएको जनाउ दिएका हुन् ।
यस दिनमा पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होलीको आगमनको जनाउ दिने परम्परा रहेको छ ।
यस वर्षको होली पर्व हिमाली र पहाडी जिल्लामा फागुन २९ र तराई क्षेत्रमा चैत १ गते मनाइदैछ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ ।
भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
बदलिँदो परिस्थिति अनुसार होली खेल्ने तौरतरिकामा भने हेरबदल हुँदै आएको छ । होलीमा जथाभावी रंग दल्ने, लोला हान्ने काम हुन नदिन स्थानीय प्रशासनले पनि कडा निगरानी राख्दै आएको छ ।
फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुंडिखेलमा लगेर दोहन गरेपछि होली पर्व सकिने मान्यता रहि आएको छ ।