काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चारसम्बन्धी कानुनलाई परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित ‘दूरसञ्चारको भविष्य निर्माण : नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ विषयक कार्यक्रममा पुरानो दूरसञ्चार नीतिले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेकाले दूरसञ्चारसम्बन्धी कानुनलाई परिमार्जन गर्न खोजिएको समेत बताए ।
विद्यमान दुरसञ्चार ऐन भन्दा नियमावली विपरितको देखिएको र ऐनलाई छाडेर नियमावलीमा चल्न खोज्दा समस्या देखिने गरेको उनले बताए ।
मन्त्री गुरुङले दूरसञ्चार सेवा प्रदायकले नेपालको नीति नियम अनुसार चल्न सक्नुपर्नेमा जोड दिए । सेवा प्रदायकका जायज समस्यालाई राज्यले सुन्ने भन्दै उनले उनीहरुले पनि गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्ने धारणा राखे ।
मन्त्री गुरुङले अन्य देशमा सिक्सजीमा जाने समयमा नेपालमा फोरजीको सेवा पनि पूर्णरुपमा दिन नसकेकाले यसमा ध्यान दिन सुझाव दिए । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले सेवाप्रदायकबाट अनुरोध आए फाइभजी प्रविधि कार्यान्वयनका लागि तयार रहेको र यसलाई फास्ट ट्र्याकमा कार्यान्वयनमा गर्न सकिने धारणा राखे ।
एकीकृत दूरसञ्चार नीतिको मस्यौदा तयार भएको भन्दै उनले सरोकारवालासंग छलफल गरि अघि बढाउने जानकारी दिए ।