काठमाडौँ – भारतीय राजदूतावासले ओडिशाको भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा केआईआईटीका पदाधिकारी र ओडिशा राज्य सरकारसँग सम्पर्कमा रहेको जनाएको छ ।
सोमबार एक विज्ञप्ती जारी गर्दै नेपालस्थित भारतीय दूतावासले स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेको दूतावासलाई जानकारी गराइएको जनाएको हो । साथै केआईआईटीले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र होस्टेलमा बस्न अपील पनि गरेको र विद्यार्थीहरूको शैक्षिक क्षतिको पनि संस्थानले हेरचाह गर्ने आश्वासन दिएको जनाएको छ ।
राजदूतावासले प्रकृति लम्सालको मृत्युप्रति दुःख व्यक्त गर्दै मृतकको परिवारप्रति समवेदना समेत प्रकट गरेको छ । दूतावासले भारतमा अध्ययनरन नेपाली विद्यार्थीको हित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशहरू बीचको स्थायी जनता–जनता सम्बन्धको एक महत्त्वपूर्ण पक्ष हुन्। भारत सरकारले भारतमा नेपाली विद्यार्थीहरूको कल्याण सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्नेछ।’
केआईआईटीमा बी–टेक अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल आइतबार विश्वविद्यालय होस्टेलको आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी भारतीय पूर्वप्रेमीको निरन्तरको दबाबले आत्महत्या गर्न बाध्य भएको भन्दै नेपाली विद्यार्थीले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।
तर, विश्वविद्यालयले उल्टै नेपाली विद्यार्थीलाई विश्वविद्यालय छाड्न निर्देशन दिँदै ५ सय भन्दा बढी नेपाली विद्यार्थीलाई रेल स्टेसनसम्म छोडेको थियो । तर, चौतर्फी विरोध र नेपालले कुटनीतिक पहल थालेपछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई विश्वविद्यालयमा फर्किन र पठनपाठन सुचारु गर्ने जनाएको छ ।