राहुल गुप्ता, बेलहिया, बारा — प्रसौनी गाउँपालिका वडा नं। ६ अन्तर्गत पर्ने बेलहिया बजारमा हाल नाला ढलानको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
स्थानीय बासिन्दाको दीर्घकालीन माग तथा बजार क्षेत्रको समुचित विकासका लागि वडा अध्यक्ष ब्रिजकिशोर कुशवाहाको नेतृत्वमा सो कार्य अघि बढाइएको हो।
वर्षाको समयमा हुने जल जमाव, सडकमा पानीको निकास अभाव र बजारको स्वच्छतामा समस्या भइरहँदा, यस पटक वडा कार्यालयले नाला निर्माणलाई प्राथमिकतामा राख्दै कार्यान्वयन सुरु गरेको छ। वडा अध्यक्ष कुशवाहाले जानकारी दिँदै भने, “बेलहिया बजार हाम्रो प्रमुख व्यापारिक केन्द्र हो। यहाँको पूर्वाधार विकासमा हामी निरन्तर लागिरहेका छौँ। यो नाला ढलानको काम बजारको सरसफाइ, सुरक्षित आवागमन र दीर्घकालीन विकासका लागि आवश्यक कदम हो।”
स्थानीयवासी तथा व्यापारीहरू यस कामप्रति खुसी व्यक्त गर्दै अध्यक्ष कुशवाहाको सक्रियतामा प्रशंसा गरेका छन्। “पहिले वर्षामा पानी बजारमै थुनिन्थ्यो, अहिले नाला निर्माण हुँदैछ, यसले ठूलो राहत मिल्नेछ,” एक स्थानीय व्यापारीले बताए।
निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै वडा कार्यालयले प्राविधिक टोलीमार्फत नियमित अनुगमन गरिरहेको जनाएको छ। काम सकेपछि बजार क्षेत्र अझ व्यवस्थित, सफा र दिगो विकासतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ।
प्रसौनी गाउँपालिकाले यसैगरी अन्य पूर्वाधार विकासका परियोजनाहरू पनि क्रमशः सञ्चालनमा ल्याउँदै लैजाने योजना बनाएको छ।