काठमाडौँ – सरकारले माघ १६ गते शहिद दिवसको अवसरमा बुधबार काठमाडौंमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।
शहिद दिवसका दिन पहिला शहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए । श्रद्धाञ्जली अर्पणपछि काठमाडौंको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने प्रवक्ता गुरुङले बताए ।
त्यस्तै बैठकले सरकारले ल्याएका अध्यादेश सदनमा पेश गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने निर्णय भएको बताए । सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको भन्दै उनले सुशासन प्रवद्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको स्पष्ट पारे ।
सरकारका प्रवक्ता गुरुङले विपक्षीले भनेजस्तो संसद छल्ने बद्नियत सरकारको नरहेको र सदनमा नै खुला रुपमा अध्यादेशका बारेमा छलफल हुने बताए ।