काठमाडौं–प्रदेश २ मा सुशासन कायम गर्न मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले ११ प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले प्रदेशभित्र पूर्ण रूपमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, नीतिगत रूपमा गरिने भ्रष्टाचारलाई स्वीकार्य नगरिने र प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती नगरी २४ घन्टाभित्रै सेवाग्राहीको काम गर्नेलगायत का प्रतिबद्धता जनाएका छन् ।


ADVERTISEMENT


मुख्यमन्त्री राउतले प्रतिबद्धता पूरा गर्न प्रदेश सभामार्फत आवश्यक कानुन बनाउने बताए । उनले भने, ‘हाम्रा यी प्रतिबद्धता कानुन निर्माण भएपछि मात्र कार्यान्वयन हुन्छ, प्रदेशका कानुन निर्माण हुन एक–दुई महिना अझै लाग्छ ।’


ADVERTISEMENT

# # #


यस्ता छन् प्रतिबद्धता
१. प्रदेशभित्र पूर्ण रूपमा सुशासन कायम गरिनेछ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइनेछ ।

२. नीतिगत भ्रष्टाचार स्वीकार्य हुनेछैन । प्रदेशको दैनिक प्रशासनमा ढिलासुस्ती सहन गरिनेछैन ।

३. सेवाग्राहीको काम कर्मचारीले २४ घन्टाभित्र पूरा गर्नुपर्नेछ । काम पूरा गर्न नसक्ने भए सेवाग्राहीलाई यथोचित कारण दिनुपर्नेछ ।

४. नागरिकको गुनासो सुन्न मुख्यमन्त्रीको कार्यालयमातहत हेलो प्रदेश सरकारको स्थापना गरिनेछ ।

५. हरेक राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक हुन् भन्ने सन्देश जनतामा प्रवाहित गरिनेछ ।

६. इमेललगायत माध्यमबाट जनताले आफ्ना गुनासा सीधै मुख्यमन्त्रीको कार्यालयमा टिपाउन सक्नेछन् । त्यस्ता गुनासामा तत्काल कारबाही गरिनेछ ।

७. ‘जनतासँग मुख्यमन्त्री’जस्ता प्रत्यक्ष संवाद कार्यक्रमका लागि सञ्चारमाध्यम प्रयोग गरिनेछ ।

८. विभिन्न ठाउँमा मुख्यमन्त्री जनताको घरदैलोमा गई प्रदेश सरकारप्रति रहेका गुनासा सुन्नेछन् । ती गुनासाको सम्बोधन गर्ने प्रयास गरिनेछ ।

९. प्रदेशका जनतालाई दैनिक उपभोग्य वस्तु र सेवामा हुने कालोबजारी र मँहगी नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार–भाउको अनुगमन गरिनेछ ।

१०. अनियन्त्रित र अवैध रूपमा भइरहेको मदिरा बेचबिखन तथा सेवनलाई आवश्यक नीति बनाई नियन्त्रित गरिनेछ ।

११. वन्यजन्तु तस्करी, प्राकृतिक स्रोत–साधन दोहन तथा वन फँडानीलाई तत्काल रोकिनेछ ।