काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।
बुधबार काठमाडौंमा विद्युत नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ गर्दै मन्त्री खड्काले केहि सञ्चारमाध्यमले आफुबिरुद्ध गलत समाचार प्रकाशित गरेको भन्दै उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दे सो चुनौती दिएका हुन् ।
पीत पत्रकारितामा नरमाउन आग्रह गर्दै उनले भने, ‘सत्यतथ्य भए त उतिखेरै अगाडी बढ्न सकिहालिन्थ्यो नि ! त्यसका लागि त पुरस्कार नै दिन चाहान्छु । कसैले प्रमाणित गर्न सक्छ । सत्यतथ्य ल्याउन सक्छ भने ।’ गलत सूचनाले देशलाई नै नोक्सान पुग्ने उनको बताउदैँ उनले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
जलविद्युत् क्षेत्रमा सरकारको अरवौं लगानी भएपनि त्यसको प्रतिफल निकै कम देखिएको उनले जनाए । उनले बुढीगण्डकी, अपर अरुण लगाएतका ठूला जलाशययुक्त आयोजना अलपत्र परेको र यसका नाममा विदेशी घुम्ने र जागिर खाने ठाँउबाहेक अरु केहि हुन नसकेको धारणा राखे । मन्त्री खड्काले सवै आयोजनाहरुलाइ एकैसाथ अघि बढाउने गरि योजना तयार गरिएको जानकारी दिए । उनले विद्युत् क्षेत्रमा देखिएका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्दै सहज रुपमा अघि बढ्ने वातावरण बनाउन प्रतिवद्ध रहेको पनि बताए ।
मन्त्री खड्काले मुलुकको समृद्धिको आधार ऊर्जा क्षेत्र नै रहेकाले प्रयाप्त रहेका स्रोतको अधिकतम परिचालन गर्नुपर्नेमा जोड दिए । आयोगले सेवाग्राही निकायहरुका लागि प्रवाह गर्दै आएको सेवालाई प्रभावकारी बनाउन अनलान सफ्टवेयरमा आधारित प्रणाली डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) सञ्चालनमा ल्याएको हो ।