चितवन – मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारबाट प्रशिक्षण सुरु भएको हो । बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी छन् । बन्द प्रशिक्षण यही पुस २२ गते सम्म चल्नेछ ।
बन्द प्रशिक्षण सकिएलगत्तै आउँदो जनवरीमा हुने प्रतियोगिताका लागि नेपाली टोली मलेसिया प्रस्थान गर्ने प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिए । अण्डर १९ महिला क्रिकेट टिमका कप्तान पुजा महतोले चितवनको खेल मैदान राम्रो भएको र आफूहरुलाई चितवनमा अभ्यास गर्न पाउदा खुशी लागेको बताउदै अभ्यासको क्रममा आफुहरुमा रहेको कमजो पक्षलाई सुधार गर्ने बताइन् ।
अभ्यासका लागि चितवन पुगेका खेलाडीहरु लाई भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले स्वागत गरेका थिए । भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले चितवनमा बन्दै गरेको रंगशालाको नमूना मैदानमा हुने अभ्यासले रंगशाला निर्माणमा दबाब पर्ने बताइन् ।
भरतपुर महानगर पालिकाका उपमेयर चित्रसेन अधिकारीले विश्वकप खेल तयारीको लागि चितवनलाई छनौट गरेकोमा क्यानलाई धन्यवाद दिदै विश्वकप प्रतियोगितामा विजयको लागि अग्रिम शुभकामना दिए । अभ्यास खेलमा आएका खेलाडीहरु लाई महानगरको तर्फबाट सहयोग गर्ने उनले बताए ।