काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेर बहादुर देउवाको कार्यशैलीको विरोध गरेका छन् ।


ADVERTISEMENT


सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित किसुनजीको जीवन र व्यक्तित्व विषयक विचार गोष्ठीमा कोइरालाले पार्टीलाई आफ्नो अनुकुल ढंगले अघि बढाएको भन्दै पार्टी सभापति देउवाको कार्यशैलीको विरोध गरेका छन् । उनले आफ्ना कुराहरुलाई पार्टी सभापतिले गम्भीरतापूर्वक नलिएका कारण समय समयमा पार्टीभित्र भागवण्डाको कुरा उठ्ने गरेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


पार्टी सभापतिले अन्य नेताहरुको कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अप्ठेरो पर्ने उनको भनाइ छ । कोइरालाले गुटलाई फस्टाइदिने काम पार्टी सभापतिले गरेको आरोप समेत लगाए । कोइरालाले विभिन्न कारणले अहिले पार्टीभित्र विचलन देखिएको कुरालाई सवैले स्वीकार गर्नुपर्ने धारणा राखे ।

कृष्णप्रसाद भट्टराईको दृढ संकल्प गर्ने बानी आफुले सदैव स्मरण गर्ने उनले बताए । कोइरालाले कृष्णप्रसाद भट्टराई, गणेशमान, वीपी लगाएतका कांग्रेसका अग्रज नेताहरुलाई बिर्सिए कांग्रेस नै नरहने धारणा राखे । सन्त नेता भट्टराईको जन्म विक्रम सम्बत् १९८१ पुस ८ गते भारतको बनारसमा भएको थियो । उनका पिता राणा शासनमा निर्वासित भएपछि परिवारले नै भारतको बनारसमा निर्वासित जीवन बिताएको थियो । नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए ।