काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् ।
२१ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा ज्यापु संस्कृति विकास कोषले आइतबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले ठुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन् । वर्तमान सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनले जनाए ।
भ्रष्टाचारमा उजुरी परेका माथि २० औँ वर्षसम्म नभइ सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरिएको उनको भनाई छ ।
उनले मुलुकको एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेको भन्दै साम्प्रदायिक विद्षका पछाडि नभइ सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहेको धारणा राखे । नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको उनको दाबी छ ।
त्यस्तै उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहले ज्यापु दिवसलाई व्यवस्थीत गर्न कोषको परिकल्पना गरेको अवस्थामा त्यसमा सरकारका तर्फबाट आवश्यक सहयोग हुने बताए मुलुकको संस्कृति, मौलिक भेषभुषाको जगेर्नाका लागि सवै गम्भीर भएर लाग्नुपर्ने उनको भनाई छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न पुरस्कार तथा सम्मान वितरणका साथै वार्षिक जात्रासम्बन्धी डिजिटल सामग्री र पुस्तक विमोचन गरे ।