काठमाडौँ – निक्षेप तथा कर्जा सुरक्षण कोष र पोखरा महानगरपालिका बीच युवाहरुलाई तालिम प्रदान गरेर स्वरोजगारीका अवसर सिर्जना गर्नका लागि कर्जा दिइने र कर्जा सुरक्षणको सम्झौता भएको छ ।
सोमबारका दिन महानगर प्रमुख धनराज आचार्यको उपस्थितिमा कोषको रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण कार्यक्रम योजना बमोजिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । समझदारी पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार पोखरा महानगरको समन्वयमा विश्वविद्यालय वा तालिम प्रदायक संस्थाहरुबाट प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गराई विश्व बजारको माग अनुरुपको सीपयुक्त सूचना प्रविधिसँग सम्बन्धित जनशक्ति तयार गरी रोजगार तथा स्वरोजगारको अवसर सिर्जना गरिनेछ ।
उक्त तालिम न्यूनतम ६ महिनाको हुने छ । यसका लागि बैंक तथा वित्तीय संस्थाद्धारा प्रति प्रशिक्षार्थी रु ५ लाख सम्मको कर्जा प्रवाह गरी निक्षेप तथा कर्जा सुरक्षण कोषद्वारा उक्त कर्जाको सुरक्षण गरिनेछ । सो कर्जा विभिन्न कारणले असुल हुन नसकेमा कर्जा प्रवाह गर्ने संस्थाले कोष समक्ष दाबी गर्ने र कोषले उक्त दाबीको ८५ प्रतिशत सम्म दाबी भुक्तानी दिनेछ । महानगरपालिकाले सुरक्षण योगदानकर्ताको रुपमा प्रति प्रशिक्षार्थी कर्जा रकमको २० प्रतिशत रकम निक्षेप तथा कर्जा सुरक्षण कोषमा जम्मा गरिदिने उक्त सम्झौतामा उल्लेख छ ।
उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख मन्दिरा थपलिया, शाखा कार्यालय पोखराका पदाधिकारी र महानगरपालिकाको तर्फवाट आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, महानगरपालिकाका प्रवक्त मोती तिम्सीना लगायतको उपस्थिति रहेको थियो ।