काठमाडौं-मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आत्माराम सत्याल एक हप्ताअघि बिदामा बसेपछि मन्थली नगरपालिकाबाट सम्पादन हुने सबै काम ठप्प भएका छन् । यस नगरपालिकाका १४ वटा वडा छन् ।


ADVERTISEMENT


स्रोतका अनुसार प्रशासकीय प्रमुख आत्माराम सत्याल र नगरपालिका मेयर रमेशकुमार बस्नेतबीच विगत दुई महिनाअघिदेखि मनमुटाब देखिएको छ । उनीहरूबीचको विवादका कारण कार्यालयका सबै काम प्रभावित भएको छ ।


ADVERTISEMENT

# # #


मेयर बस्नेतका अनुसार सत्यालले नगर कार्यालयका कर्मचारीलाई जानकारी गराउनुको सट्टा स्थानीय विकास मन्त्रालयबाट बिदा स्वीकृत गराएका थिए । बिदा स्विकृतीको पत्र स्थानीय विकास मन्त्रालयमार्फत नगरपालिकालाई प्राप्त भएको बस्नेतले बताए ।

प्रमुख प्रशासकीय अधिकृत नै बिदामा बसेपछि सडक, खानेपानी, सिँचाइ, स्वास्थ्यजस्ता विकास निर्माणका दर्जनौँ काम तामेलीमा छ । मन्थली नगरपालिका वडा नम्बर–१३ फुलासीका बुद्ध लामाले सरकारको कमजोर नीतिका कारण आफूजस्ता सयौँ सर्वसाधारणले नगरपालिकाबाट राम्रो सेवा नपाएको बताए ।