काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षकहरुलाई बन्दुक बोकेर पढाउन दिने प्रस्ताव गरेका छन् । साथै उनले शिक्षण संस्था वरपरको क्षेत्रलाई बन्दुक निषेधित घोषणा गर्न नहुने धारणा पनि राखेका छन् । हालै फ्लोरिडामा स्कुले विद्यार्थीहरुलाई बन्दुकधारीले आक्रमण गरेर हत्या गरेपछि अमेरिकामा बन्दुक राख्न पाउने कानुनको पक्ष र विपक्षमा बहस हुँदै आएको छ । ट्रम्पले यस्ता हमला फेरि हुन नदिने प्रतिवद्धता जनाएका छन् । त्यसका लागि बन्दुक किन्ने व्यक्तिको पृष्ठभूमि सही ढंगले जाँच गर्न र ‘वम्प-स्टक’ प्रविधिको प्रयोगमा रोक लगाउने कानुन बनाउन ट्रम्पले निर्देशन दिइसकेका छन् ।


ADVERTISEMENT


बन्दुकबाट हुने हिंसाबारे ह्वाइटहाउसमा बुधबार आयोजित एक कार्यक्रममा ट्रम्पले हतियारधारी शिक्षकहरुले आक्रमणलाई रोक्न सक्ने बताए । मेजररी स्टोनमन डगल हाईस्कुका विद्यार्थीहरुसँगको छलफलमा ट्रम्पले भने, ‘हामी पृष्ठभूमिको जाँच कडाइका साथ गर्नेछौं र व्यक्तिको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनेछौं ।’


ADVERTISEMENT

# # #


टेलिभिजनमार्फत् प्रसारण पनि गरिएको यस कार्यक्रमलाई ट्रम्पले भने, ‘अब पहिलेजस्तो हुनेछैन । निकै लामो सिलसिला चलेको छ, धेरै घटनाहरु भइसकेका छन् । अब हामी यसलाई अन्त्य गर्छौं ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले गन लबी समूह नेशनल राईफल एसोसिएशन (एनआरए)को प्रस्तावलाई पनि समर्थन गरेका छन् जसले शिक्षकहरु र अरु स्टाफहरुलाई बन्दुक राख्न दिने प्रस्ताव राखेको थियो । ट्रम्पले भने, ‘यदि हतियार चलाउन माहिर शिक्षक छ भने हमलालाई तुरुन्त रोक्न सकिनेछ ।’

गन फ्री जोनको आलोचना
शिक्षकलाई हतियार राख्न दिने योजना विवादित छ र त्यसलाई ट्रम्पले स्वीकार पनि गरेका छन् । यससँगै ट्रम्पले हतियार प्रतिवन्धित क्षेत्रको आलोचना पनि गरेका छन् । उनले भने, ‘गन फ्री जोन पागलपन हो किनकी कायर व्यक्तिले भन्छ- जाऔं भित्र प्रवेश गरेर आक्रमण गरौं ।’

ट्रम्पले लगभग ४० विद्यार्थी, शिक्षक र अभिभावकहरुका कुरा पनि सुने जुन निकै भावुक बनाउने खालका थिए । ट्रम्पको यो छलफलअघि ह्वाइटहाउस बाहिर वाशिङ्टन डिसी इलाकाबाट निस्किएका सयौं विद्यार्थीहरुले र्‍याली निकालेका थिए ।

यसैबीच फ्लोरिडा आक्रमणमा बाँचेकाहरुले राज्यको राजधानीमा असाल्ट राइफलको बिक्रीमा कडाई गर्न जनप्रतिनिधिहरुसँग माग गरेका छन् ।