काठमाडौं-गत साउन ३० गते पोखराको महेन्द्रपुलस्थित भुपेन्द्र हिराचनले आफ्नै घरमा सञ्चालन गरेको जुवा खालमा प्रहरीले छापा मार्‍यो । लामो समयदेखि हिराचनले मिनी क्यासीनोकै रूपमा जुवाखाल सञ्चालन गर्दै आएका हिराचनको जुवाखालबाट प्रहरीले ९ जना जुवाडेसहित १० लाख भन्दा बढी नगद बरामद गर्‍यो ।


ADVERTISEMENT


२०७४ साउन ३१ गते पोखराको फुलबारीस्थित दुर्गा बहादुर पुनले सञ्चालन गरेको जुवा खालमा प्रहरीले छापा मार्‍यो । प्रहरीले उक्त जुवा खालबाट ७ जना जुवाडेसहित १ लाख ६८ हजार रकम बरामद गर्‍यो । साउन ३२ गते पोखराकै शक्तिचोकस्थित सुजन कार्कीले आफ्नै घरमा चलाएको जुवाखालमा प्रहरीले छापामारी १२ जुवाडेसहित २७ हजार भन्दा बढी रकम बरामद गर्‍यो ।


ADVERTISEMENT

# # #


साउन यता मात्र प्रहरीले पोखराका विभिन्न ठाउँमा सञ्चालित ६२ वटा जुवाखालमा छापामारी २ सय ६६ जना जुवाडेलाई पक्राउ गरेको छ । घुम्ने बाहानामा काठमाडौं लगायतका विभिन्न ठाउँबाट पोखरा आउनेमध्ये जुवा खेल्नकै लागि पोखरा आउनेको सङ्ख्या बढ्दै गएपछि पोखरा प्रहरीले जुवा नियन्त्रण गर्न विषेश अप्रेशन चलाएको छ ।

पोखराको प्रहरी प्रमुखको जिम्मेवारी पाएका एसपी अशोक सिंहले नागरिकको गुनासोका आधारमा पोखरामा कार्यभार सम्हालेलगतै जुवा नियन्त्रण अप्रेशन चलाए। कास्की प्रहरीको तथ्यांकअनुसार पोखरामा सञ्चालित ६२ वटा जुवा खालमा छापामारी २ सय ६६ जुवाडेलाई पक्राउ गरिएको हो । त्यसमा २३ जना महिला पनि छन् । प्रहरीले ती जुवा खालबाट ५० लाख भन्दा बढी रकम समेत बरामद गरेको छ ।

‘पोखरामा जुवाको अतिनै बिगबिगी भएको देखियो,’ पोखरा प्रहरी प्रमुख एसपी सिंहले भने, ‘म पोखरा आएपछि धेरैको जुवा खालबारे गुनासो गरे, मेरो पहिलो कदम जुवा खाल बन्द गर्ने रह्यो।’ एसपी सिंहले थपे ‘जुवा खेल्नकै लागि घुम्ने बाहानामा पोखरा आउनेहरू बढेको बताए।’

‘१० महिनाको अवधिमा यतिधेरै जुवाडे पक्राउ पर्नु र जुवा खाल बन्द गराउनु सामान्य थिएन,’ एसपी सिंहले भने, ‘जुवा खाल सञ्चालन गर्नेले पहुँच लगाएको पनि देखियो गलत काम गर्नेलाई कानुनले छुट दिँदैन, कारवाहीको दायरामा आउनैपर्छ ।’

हेरालु राखि जुवा

पोखराका शहरमा प्रहरीले जुवामा कडाई गरेपछि जुवाडेहरू जुवा खेल्नकै लागि जंगल जाने गरेको प्रहरीले जनाएको छ । ‘हामीले शहरमा जुवामा कडाई गरेका छौं, शहरमा जुवा खेल्न नपाईने भएपछि जुवाडेहरू हेरालु राखेर पोखराका विभिन्न जंगलमा जुवा खेल्न थालेका छन्,’ कास्की प्रहरीका एक अधिकारीले भने, ‘जंगलमा चौतर्फि बाटो भएका कारण प्रहरी देख्नासाथ भागिहाल्छन् ।’

शहरका सबै जुवा खाल बन्द गराएको दाबी गर्दै ती अधिकारीले भने, ‘जुवाडेहरु बिहान जंगल जाने र देखिने ठाँउमा हेरालु राख्ने अनि दिनभरी जुवा खेल्ने गरेको सूचनासाथ हामी जंगल पुगेका थियौ,’ उनले भने, ‘जंगलमा बाटो धेरै तर्फ हुने भएका कारण उनीहरू भागीहाल्छन् । तर हामी अब ब्यक्ति पहिचान गरेर नियन्त्रणमा लिन्छौ ।’