काठमाडौं– नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडा विरुद्धको निर्णायक खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । टस जितेसंगै नेपालको लागि केही सहज हेने देखिएको छ ।


ADVERTISEMENT


नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा क्यानडाले पहिले ब्याटिङ गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो १:१५ बजे सुरु हुनेछ । यो जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्ने अन्तिम मार्ग हो । जसका लागि नेपालले आजको खेल जित्नुको विकल्प छैन ।


ADVERTISEMENT

# # #


आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ। खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

शीर्ष स्थानमा रहेको क्यानडा, दोस्रो स्थानको नामिबिया र तेस्रो स्थानको नेपालको समान ६–६ अंक छ। नेट रनरेटमा भने नेपाल दुई टिमभन्दा पछि छ। तीन वटै टिमले समान ३–३ खेलमा जित हात पार्दा १–१ खेलमा हार बेहोरेका थिए। २ खेलमा जित र २ खेलमा पराजित युएईको ४ अंक छ।

नेपाल शीर्ष २ मा पर्न क्यानडालाई पराजित गर्नुपर्छ। हार बेहोरेको खन्डमा नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिनेछ। नेपालले हार बेहेरेको अवस्थामा नामिबियाले जिते नेपाललाई अंकमा पछि पार्नेछ। युएई विजयी भए रनरेटमा नेपाललाई पछि पार्नेछ। यसर्थ नेपालका लागि क्यानडाविरुद्धको खेल ‘गर या मर’ सरह हुनेछ।

प्रतियोगितामा नेपालले बलिङमा राम्रो प्रदर्शन गर्दा ब्याटिङमा भने आफुलाई पूर्णरुपमा प्रमाणित गर्न सकेको छैन। बलिङतर्फ नेपालका लेग स्पिनर सन्दीप लामिछानले प्रतियोगिताकै सबैभन्दा बढी विकेट लिने क्रममा १४ विकेट लिइसकेका छन्। ९ विकेट लिएका सोमपाल कामी बढी विकेट लिने खेलाडीको चौथों स्थानमा छन्।

क्यनडाका लागि प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी निखिल दत्ता हुन्। कुवेतमा जन्मिएका उनले प्रतियोगितामा ४ खेल खेलेर ८ विकेट लिएका छन्।

क्यानडाका खेलाडीले ब्याटिङमा भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। बढी रन प्रहार गर्ने ब्याट्सम्यानको शीर्ष दुई खेलाडी क्यानडाका छन्। प्रतियोगितामा हालसम्म क्यानडाका रुभिन्दु गुणसेकेराले सबैभन्दा बढी २ सय ७ रन जोडिसकेका छन्। प्रतियोगितामा २ अर्धशतक प्रहार गरिसकेका उनले केन्याविरुद्ध ८३ रन प्रहार गरेका थिए।

ओपनिङ ब्याट्सम्यान रुभिन्दु प्रतियोगिताको सर्वाधिक बढी चौका र छक्का प्रहार गर्ने खेलाडी पनि हुन्। उनले अहिलेसम्म १६ चौका र १२ छक्का प्रहार गरेका छन्। यस्तै प्रतियोगिताको बढी रन प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका क्यानडाका कप्तान नीतिस कुमारले १ सय ६८ रन जोडेका छन्। अलराउन्डर उनले अहिलेसम्म २ अर्धशतक प्रहार गरेका छन्।

नेपालका लागि बढी रन प्रहार गर्ने खेलाडी कप्तान पारस खड्का हुन्। पारसले ४ खेलमा १ सय २९ रन मात्र जोड्न सकेका छन्। उनी प्रतियोगिताको बढी रन प्रहार गर्ने खेलाडीको सूचीको छैटौं स्थानमा छन्। पारस बाहेक नेपालका अन्य ब्याट्सम्यानले ४ खेलमा सय रन कटाउन सकेका छैनन्।

क्यानडा र नेपालबीच भएका पछिल्ला २ खेलमा दुवै टिमले १–१ जित हात पारेका छन्। तीन वर्षअघि नामिबियामै भएको डिभिजन–२ मा नेपालले क्यानडामाथि ७ विकेटको जित हात पारेको थियो। १ सय १५ रनको लक्ष्य पछ्याएको सो खेलमा नेपालका लागि कप्तान पारस खड्काले ७७ रन जोडेका थिए।

त्यसअघि सन् २०१४ को विश्वकप छनोटमा नेपाललाई क्यानडाले १२ रनले हराएको थियो। २ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा २ सय ४३ रन मात्र जोड्न सकेको थियो। खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ८६ रन जोडेपनि जितका लागि प्रयाप्त हुन सकेको थिएन।