काठमाडौं(रासस)-झापाका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित भित्री सडक खण्डमा मे १ त ४०४९ नंको ट्र्याक्टरले मे २ प १८८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँ निवासी १७ वर्षीय बुद्धिराज लिम्बूको मृत्यु भएको हो ।


ADVERTISEMENT


उत्तरबाट दक्षिण जाँदै गरेको ट्र्याक्टरले विपरीत दिशावाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाइते भएकाले उनको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


यता पूर्व–पश्चिम राजमार्गको झिलझिले सडकखण्डमा भएको सवारी दुर्घटनामा परी इलाम–३ निवासी २६ वर्षीय गंगा गुरुङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा२ब ११६२ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको युपी ३२ जियू ४६७५ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार इलाम फाकफोकथुम–६ निवासी १८ वर्षीय टीका गुरुङ गम्भीर घाइते भएकाले उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।