काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विधान संशोधन गरेर चुनाव गर्न नेपाल क्रिकेट संघलाई ५० दिनको समय दिएको छ ।


ADVERTISEMENT


हालै नेपाल आएको आईसीसीको टोलीले विधानमा देखिएको विवादबारे जानकारी लिएको थियो । लगत्तै राखेप, निर्वाचित क्यान र सल्लाहकार समूहका संयोजकले संयुक्त पत्रकार सम्मेलन गरेर क्रिकेट विवाद समाधानको मिलन बिन्दु पत्ता लगाएको घोषणा गरे ।


ADVERTISEMENT

# # #


आईसीसीको बोर्ड बैठकले नेपाललाई विधान संशोधन गर्न मार्चसम्मको समय दिएको छ । अब निर्वाचित क्यानले तत्काल साधारणसभा बोलाएर सल्लाहकार समूहमा भएको सहमतिअनुसार क्रिकेट संघको विधान संशोधन गर्नु पर्नेछ ।

सल्लाहकार समूहले बनाएको विधानमा संशोधन गरेको भन्दै आईसीसीले अस्वीकार गरेको थियो । अब विधान संशोधन गर्दा चुनावी साधारणसभामा राखेपबाट ७ जना जाने र निर्वाचित क्यानका १७ जना स्वतः सहभागी हुने व्यवस्था हटाइनेछ ।

आईसीसीले विधान संशोधन भएर मार्च अन्तिमसम्ममा जिल्ला, प्रान्त र केन्द्रको चुनाव भइसक्ने अपेक्षा गरिएको बताएको छ । अहिले ललितपुर र भक्तपुर बाहेक सबै जिल्लाको चुनाव भइसकेको छ । तर, केही जिल्लामा विवाद भए अनुगमन समितिले हेरेर फेरि चुनाव गर्ने सहमति भएको छ ।

आईसीसीले भनेको छ- जुनमा हुने आईसीसीको साधारणसभामा नेपालको सदस्यताबारे निर्णय गर्नका लागि यो प्रक्रिया मार्च अन्त्यसम्ममा पूरा हुने अपेक्षा गरेका छौं ।