नेकपा एमालेका नेता तथा युवासंघ नेपालका सचिव पर्शुराम बस्नेतसंग हिमालय पोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


अहिले राष्ट्रिय सभाको निर्वाचन पनि सम्पन्न भएको छ । यो बेलाको राजनीतिलाई कसरी नियाल्नु भएको छ ?


ADVERTISEMENT

# # #


तीनै चरणका निर्वाचनहरु सम्पन्न भइसकेका छन् । राष्ट्रियसभाको निर्वाचन पनि हिजो मात्रै सम्पन्न भइसकेको छ । यो समयमा युवासंघको धारणा राख्नुपर्दा नेपाली जनताहरु एकदमै उत्साहित छन् । राष्ट्रियसभामा पनि वाम गठबन्धनले दुई तिहाई मतका साथ विजय हाशिल गरेको छ । त्यही हिसाबले हामी नेपालीमा एउटा उत्साह र उर्जा पैदा भएको छ । युवासंघ नेपालको संस्थापक अध्यक्ष केपी शर्माओली यो मुलुकको समृद्धिको नेतृत्वका लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ । त्यसले हामी युवासंघका नेता कार्यकर्तालाई गौरभान्वित बनाएको छ । फागुनको दोस्रो हप्ताभित्रमा हामीले केपी ओलीलाई प्रधानमन्त्री भएको हेर्न पाउनेछौँ ।

यो बेलामा युवासंघको कार्यक्रमहरु के-के रहेका छन ? वर्तमान अवस्था कस्तो छ ?

यसको अवस्था भन्नुपर्दा युवासंघ अहिले कोमामा छ । युवासंघको मूल नेतृत्वको बारेमा कहिलेकाहिँ फेसबुकमा उहाँको फोटो देख्न पाइन्छ । राजनीतिक तथा सांगठनिक गतिविधि ठप्प छ । नेतृत्व प्रदेश सभाको सदस्यमा निर्वाचित हुनुहुन्छ । तर निर्वाचनमा जाँदापनि उहाँले कुर्ची खोसिन्छ कि भनेर कार्यबाहक समेत दिनुभएन । मैले विभिन्न छलफलमा भन्ने गरेको छु । युवा आन्दोलनलाई समाप्त पार्न कम्रेड राजीव पहारीले नयाँ नजीर स्थापित गर्नुभयो । मुलुकलाई ब्रह्मलुट पार्ने, तहसनहस पार्ने पात्रको रुपमा अहिलेको प्रधानमन्त्रीले पनि गलत नजीर स्थापना गर्नु भयो । त्यस कारण यी दुई पात्रलाई मैले एउटालाई युवा आन्दोलन समाप्त पार्ने पात्र र अर्कोलाई राजनीतिक व्यवस्था नै समाप्त पार्ने पात्रको रुपमा लिएको छु ।

खासमा यस्ताखालको असन्तुष्टि कसरी उत्पन्न भए ?

यो कसरी आयो भन्दा उहाँलाई सर्वसम्मतले अध्यक्ष बनाइयो । तर उहाँले सर्वसम्मत रुपमा संगठनलाई संस्थागत रुपमा सञ्चालन गर्न सक्नुभएन । त्यो हिसाबले असन्तुष्टि आएको हो । अरु कुनै व्यत्तिगत रिसराग उहाँसंग हामी कसैको छैन । उहाँ हाम्रो एकदम माननीय व्यक्तित्व हो । तर उहाँका काम र भूमिकाले उहाँ आलोचनाको पात्र बन्नु भएको हो ।

अहिलेका अध्यक्ष प्रदेशसभाका सांसद बनेर गइसकेपछि त्यसको नेतृत्व हस्तान्तरण गर्न उहाँले ढिला गर्नु भएको हो कि तपाईहरुलाई हतारो भएको हो ?

करिब ६ वर्ष अघि बुटवल महाधिवेशनमा महेश बस्नेतलाई दोस्रो पटक निर्वाचित गरेर हामी जुन उत्साहका साथ फर्किएका थियौँ । त्यसपछि कम्रेड महेशले सरकारमा मन्त्रीको जिम्मेवारी पाएपछि उहाँले नेतृत्व सहज रुपमा हस्तान्तरण गर्नुभयो । युवाहरुले अझै महेश बस्नेत आवश्यक छ भनिरहँदा पनि उहाँले मैले विशिष्ट जिम्मेवारी पाएँ । त्यस कारण नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर छोड्नु भएको थियो । त्यो नै दुर्भाग्य हो । उहाँले महाधिवेशनबाटै छोड्नुपर्छ भन्ने म लगायतका साथीहरुको मुल मान्यता थियो । तर उहाँले मान्नु भएन ।

त्यसपछि हामीले राजीव कम्रेडलाई महाधिवेशन गर्ने संयोजकका रुपमा बनायौँ । तर उहाँले महाधिवेशनको मिति तोकेर पनि महाधिवेशन गर्न सक्नु भएन । त्यहीँ असफल हुनुभयो । अर्को, केन्द्रिय कमिटिको बैठक १६ महिनामा बसाउनु भयो । बैठक बसाउँदा पनि फैसला कार्यान्वयन गर्न सक्नुभएन । फेरि अर्कोपल्ट असक्षम हुनुभयो । तीन तहको निर्वाचनमा युवा संघका तर्फबाट युवाहरुलाई सशक्त रुपले परिचालन गर्न सक्नुभएन, यो अर्को असक्षमता । अर्को, ८ महिनादेखि उहाँले स्थायी कमिटिको बैठक बसाउन सक्नुभएको छैन । अर्कोे असक्षमता, प्रदेश सभामा आफू चुनाव लड्दासम्म युवा संघमा कार्यबाहक दिनसक्नु भएन ।

ब्यक्तिगत रुपमा भन्नुपर्दा उहाँ मेरो सम्मानित नेता हो । तर राजनीतिक रुपमा उहाँ असक्षम यसरी देखिनुभएको छ ।

यो समस्याको समाधान के हो त ? कसरी अगाडि बढ्नुहुन्छ ?

युवा आन्दोलन बचाउने हो भने पार्टीले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ । ताकि महाधिवेशन घोषणा गरेर नेतृत्व चुन्न सकियोस् ।

यसका लागि त युवासंघभित्र पनि सबैको राय एउटै हुनु पर्यो नि । अरुले के भनिरहेका छन् ?

युवासंघ भरिका ७७ वटै जिल्ला र ७५३ स्थानीय तह र केन्द्रिय कमिटिको माग यथाशिघ्र नवौँ महाधिवेशन सम्पन्न गर्नका लागि आह्वान गर्नु रहेको छ । राजीव पहारी असक्षम भएको हुनाले महाधिवेशन गर्नका लागि बेग्लै संयोजक तोकेर भएपनि नवौँ महाधिवेशन एक महिनाभित्र सम्पन्न गर्नका लागि देशभरिका युवा नेता कार्यकर्ताले माग गर्नुभएको छ । त्यो मैले मात्रै भनेको होइन ।

तपाईहरुको पार्टी सरकारमा जाँदैछ । एकडेढ महिना त यत्तिकै जाला । अनि महाधिवेशन एक महिनाभित्र नै सम्भव हुन्छ ?

पार्टी सरकारमा जाने एउटा कुरा हो । संगठनका महाधिवेशन हुनुपर्छ । ६ वर्षदेखि महाधिवेशन भएको छैन । सरकारमा जाने कुराले, पार्टी एकता हुने कुराले महाधिवेशनलाई रोक्दैन । त्यो कारणले सरकारमा जाने भनेको निर्वाचित प्रतिनिधिसभा सदस्यहरु जाने हो । प्रदेश सभामा निर्वाचित सदस्य जाने हो । त्यस कारणले युवासंघको महाधिवेशनमा कुनै बाधा उत्पन्न हुँदैन ।

अहिलेको नेतृत्व निष्कृय भयो भन्ने खालको कुरा गर्नु भयो । राजनीति, देश र समय फरक ढंगले अगाडि बढ्दैछ । यो परिवर्तित समयमा अबको युवासंघ र यसको नेतृत्व कस्तो बन्नुपर्छ ?

युवासंघ भनेको आफैमा प्रगतीशील, जनवादी र देशभक्त युवाहरुको साझा संगठन हो । त्यो हिसाबले प्रगतीको पक्षपाती, राष्ट्रवादी, एउटा क्रियाशील र युवाको हिकहितका लागि काम गर्ने नेतृत्व आवश्यक छ । युवासंघ निर्माण हुँदैगर्दा कम्रेड केपी शर्मा ओलीले वौद्धिक नेतृत्वको विकास गर्ने संस्थाको रुपमा कल्पना गर्नुभएको थियो । त्यही उद्देश्य अनुसार संगठन राजीव पहारीको नेतृत्वसम्म आइपुग्दाखेरी चल्न सकेन । यथास्थितिवादी नेतृत्वको रुपमा, आवधिक निर्वाचन सम्पन्न गर्न नसक्ने नेतृत्वको रुपमा र नेतृत्व सही नभएपछि संगठनको हालत के हुन्छ भन्ने नजीर कम्रेड राजीवले स्थापित गर्नुभयो । इतिहासले यसको मुल्याङ्कन गर्नेछ ।

समय अनुसार परिवर्तन गर्दै लैजान युवासंघलाई अब कसरी लैजानुहुन्छ त ? किनकी नेतृत्वमा आउने दाउ त तपाईहरुको पनि होला ?

युवासंघलाई गति दिनका लागि र युवा आन्दोलनलाई संस्थागत गर्नका लागि तथा अहिलेको राज्य पुनसंरचना अनुसार यसलाई व्यवस्थित गर्नका लागि सही, क्रियाशील नेतृत्वलाई हामीले महाधिवेशनबाट नेता बनाएर अगाडि बढ्यौँ भनेमात्रै युवासंघको आन्दोलनले सार्थकता पाउँछ । महाधिवेशन नगर्ने र नेतृत्व हस्तान्तरण नगर्ने प्रवृत्तिले कहीँ पुर्याउँदैन । युवासंघलाई गति दिनका लागि, क्रियाशील बनाउनका लागि, आम नेपाली युवाहरुको आकर्षण बढाउनका लागि अझै यो संगठनलाई उचाईमा पूर्याउन नयाँ नेतृत्व महाधिवेशनबाट आउनुपर्छ ।

युवासंघको नेतृत्वमा आउने सोच बनाउनु भएको छ ?

युवासंघमा म रहेपनि नरहेपनि युवा आन्दोलनमा म सधैँभरि साथ दिन्छु । आन्दोलनलाई सही दिशामा लैजान सहयोग गर्ने कुरामा मेरो महत्वपूर्ण भूमिका रहने छ । म यो वा त्यो पदमा हुनुपर्छ भन्ने दाबी गर्दिन । मैले मेरो व्यवस्थापनको लागि यो महाधिवेशन भनिरहेको छैन । ६/६ वर्षसम्म महाधिवेशन नभएर संगठन डुब्न लाग्यो भन्ने मात्रै चिन्ता हो । युवा आन्दोलन बचाउनका लागि नवौँ महाधिवेशन चाँडोभन्दा चाँडो हुनुपर्छ ।

प्रदेश नं एकको राजधानी विराटनगरमा शितलहर अझै चलिरहेको छ । तर राजनीति अझै गरम बन्दैछ । त्यहाँको हालखबर के छ ?

त्यस्तो केहि छैन । संसदीय दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढेको छ । प्रदेशसभाको पहिलो बैठकपनि सम्पन्न भइसकेको अवस्थामा एक नम्बर प्रदेशको आवश्यकता हेरेर केहि दिनमै हाम्रो पार्टीको एक जना नेता संसदीय दलको नेताका रुपमा चयन हुनुहुनेछ ।  त्यसपछि मुख्यमन्त्रीको चयन हुनेछ ।  एकातिर भीम आचार्य हुनुहुन्छ । अर्कोतिर शेरधन राई प्रत्यासीका रुपमा हुनुहुन्छ । एउटा कुरा के हो भने प्रदेश नं एकका जनताको माग भनेको जनजातीको बाहुल्य भएकाले पहिलो मुख्यमन्त्री जनजातीबाट नै हुनुपर्छ भन्ने छ । जनताको माग अनुसार १ नम्बर प्रदेशको मुख्य मन्त्री सेरधन राई नै हो भन्ने आम जनताको बुझाइ छ । यो छलफलपछि टुंगिन्छ ।

भनेपछि युवासंघले शेरधन राईलाई सहयोग गर्छ ?

त्यस्तो होइन । दुबै पार्टीका नेता हुन् । हामीले व्यक्तिभन्दा पनि पार्टीको पक्षमा लाग्नुपर्छ । मैले भनेको जनताको भावनाको कदर गरेमा त्यसले दूरगामी महत्व राख्छ भन्ने हो ।