काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध नगर्ने निर्णय गरेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिको गरिमा, मर्यादा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हेरेर राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा कांग्रेसले भाग लिने र अवरोध नगर्ने निर्णय गर्दै त्यसपछि बस्ने कुनै पनि बैठक सहज ढंगले सञ्चालन गर्न नदिने निर्णय गरेको उनको भनाई छ ।

सहकारीको रकम अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कुनै कार्यसूची अगाडि बढ्न नदिने भन्दै उनेले यसबाट उत्पन्न हुने परिणामको जवाफदेहीता सरकारले लिनुपर्ने बताए ।

प्रमुख सचेतक लेखकले सहकारीको अर्बौं रकम हिनामिना हुँदा पनि सरकार चुप लागेर बसेको आरोप लगाए । यस्तै बैठकमा गिरिबन्धु टिस्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल भएको र यो विषयले बैठकमा प्रवेश पाए पनि यसबारे व्यवस्थित धारणा ल्याउने प्रमुख सचेतक लेखकले जनाए ।

राष्ट्रपति पौडेलले मंगलबार संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।