विश्व क्यान्सर दिवस । क्यान्सरसम्बन्धी जनचेतना फैलाएर यो दिवस मनाउने गरिन्छ । तर, कतिपयलाई क्यान्सरबारे त्यति जानकारी नहुन पनि सक्छ । यस रोगबारे जानकारी अभावकै कारणले थुप्रै मानिसले अकालमा ज्यान गुमाउनुपरिरहेको छ । मानिसमा बढी हुने पाँच क्यान्सरबारे एक सामग्री स्


ADVERTISEMENT


डा. राजेन्द्र बराल
क्यान्सर रोग विशेषज्ञ


ADVERTISEMENT

# # #


स्तन क्यान्सर
विश्वमा महिलाको ज्यान लिने प्रमुख रोग स्तन क्यान्सर हो । स्तन क्यान्सर महिलामा हुने गम्भीर समस्याका रूपमा देखा परेको छ । सामान्य कुरामा हेलचेक्र्याइँ गर्दा र वेलैमा रोगको निदान एवं उपचार गर्न नसक्दा स्तन क्यान्सरबाट कैयौँ महिलाले अकालमै ज्यान गुमाउनुपरिरहेको छ । स्तनमा भएका कोष—कोषिकाको अनावश्यक वृद्धिका कारण क्यान्सर हुने गर्छ । स्तनमा देखिने सामान्य गिर्खा, गाँठागुठी, निको नहुने घाउ नै क्यान्सरका रूपमा परिणत हुन सक्छ ।

पहिलो स्टेजमै स्तन क्यान्सरबारे थाहा भएमा निको पार्न सकिन्छ । तर, समय गुज्रिएपछि क्यान्सरबारे थाहा भएमा यसले ज्यान नै लिन सक्छ । बदलिँदो जीवनशैली, अस्वस्थकर रहनसहनका कारण स्तन क्यान्सरको प्रकोप दिनप्रतिदिन बढिरहेको छ । बढी उमेरमा विवाह गर्ने, बच्चा नजन्माउने महिलामा यस्तो रोग लाग्न सक्छ । नियमित व्यायामबाट पनि स्तन क्यान्सरबाट बच्न सकिन्छ । बच्चा भएका आमाले नियमित स्तनपान गराउनुपर्छ । यसले बच्चालाई मात्र नभएर आमाको स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ ।

पाठेघरको मुखको क्यान्सर
नेपालका महिलामा सबैभन्दा बढी देखिने अर्को रोग हो, पाठेघरको मुखको क्यान्सर । यो क्यान्सरको पनि सुरुकै अवस्थामा निदान गर्न सकिएमा उपचार सम्भव छ । तर, पाठेघरमा संक्रमण देखिँदा पनि बेवास्ता गरेमा यसले ठूलो रूप लिन्छ र ज्यान नै जान सक्छ । यो क्यान्सरको सुरुकै अवस्थामा उपचार नगरेमा शरीरका अन्य भागमा पनि फैलन्छ । सानै उमेरमा विवाह भएका महिला, कम उमेरमा यौनसम्पर्क राख्ने महिला, बढी सेक्स पार्टनर बनाउने, बढी सन्तान जन्माएका महिलामा यस्तो क्यान्सरको सम्भावना अधिक हुन्छ । कुपोषित, यौनसम्पर्कपछि संक्रमण भइरहने, परिवार नियोजनका साधन बढी प्रयोग गर्ने महिलामा पनि यस्तो क्यान्सरको जोखिम हुन्छ ।

पाचन प्रणालीको क्यान्सर
पाचन प्रणालीमा हुने क्यान्सर अन्यभन्दा जटिल हुन्छ । सुर्तीजन्य पदार्थको सेवन, मद्यपान, सुपारीजन्य, रासायनिक पदार्थको सेवनले वाचन प्रणालीको क्यान्सर हुन्छ । त्यस्तै, मुखको नियमित सरसफाइ नगर्दा पनि पाचन प्रणालीमा असर पुग्छ । यसको कारण पनि यस्तो क्यान्सर लाग्न सक्छ । पाचन प्रणालीमा क्यान्सरका रोगीमध्ये ९० प्रतिशतमा मद्यपान र धूम्रपान सेवनका कारण भएको छ ।

मुखको क्यान्सर
सुर्तीजन्य पदार्थ र मद्यपानको सेवनले मुखको क्यान्सर हुने गर्छ । अनुसन्धानले पनि यो देखाएको छ कि मुखको क्यान्सर भएका ९० प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्थे । सुर्ती र मदिरासँगै चुरोटको प्रयोग गर्दा पनि मुख क्यान्सरको सम्भावना १५ प्रतिशतले बढेर जान्छ । जंकफुड, रफुड, केमिकल हालेको खानालगायतले मुखको क्यान्सर लाग्ने सम्भावना हुन्छ । त्यसैले मुखमा आउने परिवर्तन, घाउ–खटिरा, दागलाई हेलचेक्र्याइँ गर्दा यसले भयंकर रूप लिन सक्छ । यसबारे सचेत हुन आवश्यक छ ।

आँखाको क्यान्सर
धेरैलाई जानकारी नहुन सक्छ कि आँखामा पनि क्यान्सर हुन्छ । यही सचेतनाको कमजोरीले पनि आँखा क्यान्सरको रोगी बढेको पाइएको छ । सुरुमै यसको क्यान्सरबारे थाहा भएमा निको पार्न सकिन्छ । तर, ढिलो भएमा आँखाका क्यान्सर शरीरभरि फैलन्छ, जुन निको पार्न निकै गाह्रो पर्छ । विशेषगरी बच्चाहरूमा आँखाको क्यान्सर देखिने गरेको छ । विश्व स्वाथ्य संगठनका अनुसार २० हजार नवजात शिशुमध्ये एकजनामा आँखाको क्यान्सर देखिएको छ ।

नखानुस्
क्यान्सरबाट बच्न तारेको, भुटेका खाद्यपदार्थ बढी प्रयोग गर्नुहुँदैन । यस्ता खानाले शरीरको जुनसुकै अंगमा पनि क्यान्सर बनाउन सक्छ । केमिकलयुक्त खाद्यपदार्थ– तरकारी, फलफूल खानु हुँदैन । माछा, मासुको पनि कम प्रयोग गर्नु स्वस्थकर हुन्छ । बरु गोडागुडीजन्य खानेकुराको बढी प्रयोग गर्दा राम्रो हुन्छ ।

कारक
क्यान्सर शरीरको कोष या कोषिकाको समूहको अस्वाभाविक वृद्धिका कारण निम्तिने रोग हो । यदि यस्तो हानिकारक कोष या कोषिकालाई समयमै नहटाएमा पूरै शरीरमा फैलन्छ र अन्ततः मानिसको ज्यान नै लिन्छ । यो रोग मध्यपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको अधिक प्रयोग र अव्यवस्थित खानापान तथा जीवनशैलीका कारण लाग्ने गर्छ । अत्यधिक चिल्लो पदार्थ, नुन, धुवाँमा सेकाएको मासु, ढुसी परेको खानेकुरा, बासी खानेकुराको प्रयोग पनि क्यान्सरका कारक हुन् । कतिपयलाई वंशाणुगत कारणले पनि यो रोग लाग्छ । अत्यधिक घाम, परमाणुको प्रभाव, नियमित उपचारमा प्रयोग हुने रेडियो विकिरणले पनि क्यान्सर बनाउन सक्छ । त्यसैले एक्सरे, सिटी स्क्यान, रेडियोथेरापी, मोमोग्राम आदिको अत्यधिक प्रयोग गर्नुहुँदैन । वातावरण, औद्योगिक प्रदूषण, मिसावटयुक्त खानाको सेवन, विभिन्न विषाक्त रसायन पदार्थको प्रभावले मानिसमा क्यान्सर देखिन सक्छ ।

नयाँ पत्रिकाबाट