काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सी (क्युएनए) बीच समाचार आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।


ADVERTISEMENT


कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आजदेखि हुन लागेको नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा दुई देशका समाचार समितिबीच समझदारीपत्रमा हस्ताक्षर हुन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सञ्चार मन्त्रालयका अनुसार समझदारीपछि दुवै संस्थाबीच निःशुल्क समाचार आदानप्रदान हुनेछ । साथै राससले उत्पादन गरेका समाचार क्युएनएमार्फत कतारका सञ्चारमाध्यमले र क्युएनएले उत्पादन गरेका समाचार राससमार्फत नेपालका सञ्चारमाध्यमलाई प्रयोग गर्न सहज हुनेछ ।

विसं २०१८ फागुन ७ गते स्थापना भएको राज्यद्वारा सञ्चालित नेपालको एकमात्र समाचार एजेन्सी हो । क्युएनए सन् १९७५ मे २५ मा स्थापना भएको राज्यद्वारा सञ्चालित कतारको एकमात्र समाचार समिति हो ।

राष्ट्रपति कार्यालयका अनुसार कतारका अमिरलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम छ । पश्चिम एसियाबाट नेपालमा पहिलोपटक अमिरको तहमा भ्रमण हुन लागेको हो ।

कतारका अमिर नेतृत्वको प्रतिनिधिमण्डलसँग भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रमण्डलले द्विपक्षीय वार्ता गर्नेछ । कतारी अमिरले आज नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नेछन् ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग अभिवृद्धिसम्ब्न्धी सम्झदारीपत्रमा हस्ताक्षर हुनेछ ।