काठमाडौँ– आज कतारका अमिर(राजा) तमिम विन हमाद अल थानी नेपाल आउदैँछन् ।


ADVERTISEMENT


उनी अपराह्न ४ देखि ५ बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिए। फिलिपिन्स र बंगलादेशको राजकीय भ्रमणपछि उनी मंगलबार राजकीय भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।


ADVERTISEMENT

# # #


कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्ने बताइएको छ । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

कतारसँग ८ माघ ०३३ मा नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व)बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।