काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन निर्माणका लागि शिलान्यास भएको छ ।


ADVERTISEMENT


भारतीय सहयोगमा बन्ने उक्त भवनको शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामी र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त भवन नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको २.७३ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुनेछ । जसअनुसार विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा उपयोग गरिनेछ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र दार्चुलाको शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको भारतय राजदूतावासले जनाएको छ ।

कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे । उनले विद्यार्थीका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।