काठमाडौं-थप चारवटा प्रदेशमा आज प्रदेशसभाको पहिलो बैठक बस्दै छ ।


ADVERTISEMENT


प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठकको तयारी पूरा भएको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मै सम्पन्न भइसकेको छ भने प्रदेश १ को माघ २२ गते तोकिएको छ । संघीयता कार्यान्वयनसँगै हुन लागेको प्रदेश बैठकमा प्रमुख दलका सांसदहरूले आफ्नो प्रदेशलाई समृद्ध बनाउने सपना लिएर आएको बताएका छन् ।


ADVERTISEMENT

# # #


पहिलो बैठक हुन लागेका सबै प्रदेशले आज अन्तरिम कार्यविधि पारित गर्ने रसभामुख निर्वाचनको मिति तोक्ने कार्यसूची छ ।

प्रदेश २ मा तराई मधेसका ८ जिल्लाबाट अधिकांश प्रदेश सांसद दुई दिनअघि नै जनकपुर पुगेका छन् । प्रदेश २ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गर्नैछन् । यो प्रदेशमासंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले मुख्यमन्त्री चयन गर्नेछन् । यो प्रदेशमा १ सय ७ सांसद छन् ।

प्रदेश ५ मा ज्येष्ठ सदस्य बलराम शर्मा पौडेलले पहिलो बैठकको अध्यक्षता गर्नैछन् । यो प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले नेता शंकर पोखरेल निर्विवाद देखिएका छन् । एमालेले उनलाई सो प्रदेशको संसदीय दलको नेता चयन गरिसकेको छ । प्रदेशमा एमालेका ४०, कांग्रेसका १९, माओवादी केन्द्रका २०, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनता पार्टी (राजपा) का १ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

प्रदेश ६ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य हिमबहादुर शाहीले गरेका छन् । सदस्य संख्याका हिसाबले सबैभन्दा सानो प्रदेश ६ को प्रदेशसभामा ४० सांसद छन् । यो प्रदेशमा मुख्यमन्त्री माओवादीबाट हुने पक्का जस्तै छ । माओवादीका सांसद महेन्द्रबहादुर शाही र नरेश भण्डारीबीच मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा छ ।

प्रदेश ७ को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गर्दै हुनुहुन्छ । डोटी २ का माओवादी सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री हुने सम्भावना छ । उनलाई एमालेले समर्थन गरेको छ ।