काठमाडौँ – अभिनेता राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । उनी ‘यो नेपाली शिर उचाली’ नामक कार्यक्रम लिएर दर्शकमाझै आउने भएका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्नलायक काम गरेका नेपालीहरुलाई महानायक हमालले उनीहरुको कर्मथलोमै पुगेर अन्तरंग कुरा गर्ने बताइएको छ । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुनेछ । जसका लागि हमालसहित प्रोडक्सन टिमले गत सेप्टेम्बरममा बेलायत र युरोपियन मुलुकहरुको भ्रमण गरेको थियो ।


ADVERTISEMENT

# # #


उनको कार्यक्रम यही चैत ३० गतेदेखि हरेक शुक्रबार साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ । मुभ मिडिया प्रा.लि र अल थ्री मिडिया घर प्रा.लि ले संयुक्त रुपमा उत्पादन गरेको कार्यक्रमको निर्देशन रोशन ठकुरीले गरेका छन् ।

कार्यक्रमको टिजर सार्वजनिक गर्दै अभिनेता हमालले यो कार्यक्रममा संसारभरि छरिएका नेपालीको सपना र संघर्षको वास्तविक कहानी हुने बताए । उनले आ–आफ्नो क्षेत्रमा सफल र सक्रिय ती नेपालीहरुको कथा सबै नेपालीका लागि प्रेरणा बन्ने र आफ्नो लागि पनि नयाँ अनुभव हुने उल्लेख गरे । स्वाभिमान र संभावनाको कथा उजागर हुने कार्यक्रम अनुभव र उत्प्रेरणाको दस्तावेज समेत बन्ने उनको विश्वास छ ।

कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीले ‘नेपालीहरु हरेक क्षेत्रमा सक्षम छन्, र आफ्नो क्षमतालाई विश्वभरि प्रमाणित गरिरहेका छन’् भन्ने यथार्थलाई कार्यक्रमले उजागर गर्ने बताएका छन् । कार्यक्रमले त्यस्ता नेपालीहरुसंग भएको ज्ञान र दक्षतालाई नेपालसंग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ । निर्देशक रोशन ठकुरीले विदेशमा नेपालीहरुले गरेको संघर्ष र उपलब्धी नेपाली मिडियामार्फत देखाउने कार्यक्रमको निर्देशन गर्न पाउनु गर्वको विषय भएको बताए ।