काठमाडौँ – नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गर्ने निर्णयलाई लिएर प्रहरी संगठनभित्र असन्तुष्टि बढेको छ ।


ADVERTISEMENT


आईजीपी वसन्त कुँवर नेतृत्वको प्रहरीको बढुवा समितिले बुधवार राति ८ जना डीएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, बढुवाको लागि प्रतिस्पर्धामा रहेका १ नम्बरका डीएसपी प्रदीप बहादुर क्षेत्रीलाई नै छुटाइएपछि असन्तुष्टी बढेको हो ।


ADVERTISEMENT

# # #


डीएसीपी क्षेत्री तिनै प्रहरी अधिकृत हुन्, जसलाई आईजीपी कुँवरले गत असोज ३० गते प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालयमध्ये सबैभन्दा उत्कृष्ट व्यवस्थापन र कार्यसम्पादन गरेको भन्दै प्रशंसापत्र प्रदान गरेका थिए ।

प्रहरी दिवस, २०८० को अवसरमा डीएसपी क्षेत्रलाई आईजीपी कुँवरले प्रदान गरेको प्रशंसापत्र ।

तर, आफैले सर्वाेत्कृष्ट ठहर गरेका डीएसपी क्षेत्रीलाई ५ महिना नपुग्दै बढुवाका लागि योग्य नठान्नुले योग्यता प्रणालीलाई प्राथमिकता दिने रटान लगाइरहेका आईजीपी कुँवरमाथि प्रश्न उठाईएकाे छ । गृहमन्त्री लामिछानेकाे कसैलाई अन्याय नगर्ने सुशासनकाे हुँकारमा समेत दाग लागेकाे विश्लेषण गरिएकाे छ । यसले प्रहरी बढुवामा पारदर्शीता कायम हुने कुरामा शंकासमेत पैदा गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।

यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा गर्दा कार्यक्षमताको आधारमा गरिएको थियो । तर, सो भन्दा माथिल्लो दर्जामा वरीयता मिचिएन । यसपटक वरीयता नमिच्ने आफ्नो अडानबाट आईजीपी वसन्त कुँवर पछाडि हटेका छन् । यता ‘जान्नेलाई छान्ने’ नाराले सत्तामा पुगेका गृहमन्त्री रवि लामिछाने एक नम्बर वरियतामा रहेका क्षेत्रीको अन्यायमा रमिते बनिरहेका छन् ।

सरुवा, बढुवाका लागि कुनै शक्ति केन्द्र धाउनुपर्दैन भन्दै हाँक दिने गृहमन्त्री लामिछानेले योग्यता प्रणालीलाई चुनौती दिँदै गरिएको बढुवामा हस्तक्षेप गर्न नसक्दा प्रहरी बढुवामा उही ‘पुरानै शैली’ दोहोरिएको छ । डीएसपी बढुवामा गृहमन्त्री लामिछाने सत्तारुढ गठबन्धनका नेताको दबाबमा परेको समेत विश्लेषण गर्न थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्माओलीको प्रत्यक्ष दबाब बढुवामा देखिएको भन्दै गृह मन्त्रालय एक्लै हाँक्नमा लामिछाने निरीह बनेको यो घटनाले समेत स्पष्ट पारेको बताइएको छ ।

आफ्नो ब्याचमा बढुवा हुन बाँकी रहेकामध्ये पहिलो नम्बरमा रहँदा पनि बढुवामा नपरेपछि डीएसपी क्षेत्रीले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘निःशब्द । अटुट विश्वास र आत्म सम्मानमा गहिरो चोट । तपाईहरूको कुनै शब्दले पीडा मेटिँदैन । यो पीडाले तपाईंसमेतको परिवारलाई चोट अवश्य पुग्नेछ ।’

डीएसपी क्षेत्रीले संगठनले आफूमाथि ठूलो अन्याय गरेको बताए । उनले भने ‘पाँच महिनाअघि मलाई सर्वोत्कृष्ट भनेर सम्मान गरियो । तर, अहिले म सबैभन्दा अगाडि हुँदाहुँदै मलाई नै छुटाएर बढुवा गर्नुले ममाथि ठूलो अन्याय भएको छ ।’

उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्ने डीएसपी क्षेत्री जताजता जिम्मेवारीमा खटिए, सबैतिरबाट प्रशंसा पाइरहेका छन् । तर, योग्य र सबैभन्दा सक्षम हुँदाहुँदै संगठनले नै उनको क्षमताको कदर नगरेपछि अन्य प्रहरी अधिकृतहरुले समेत आश्चर्य व्यक्त गरिरहेका छन् ।