काठमाडौं-भारतको बहराइचमा बिहीबार भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ ।


ADVERTISEMENT


नेपालगन्जबाट भारतको लखनउतर्फ जाँदै गरेको अवस्थामा युपी ४० एक्स ६८१४ नम्बरको ‘महिन्द्रा बोलेरो’ गाडी दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ भने, तीनजना गम्भीर घाइते भएका हुन् ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा नेपालगन्ज निवासी मुनब्बर अलि हल्वाई र टिकापुर घर भई हाल नेपालगन्जमा बस्दै आएका भुतपूर्व प्रहरी नायव निरिक्षक(सई) रोशन शाहको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीलाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता राजेन्द्र अर्यालले जानकारी दिए । प्रहरीका अनुसार युपी २१ ए.एन ७०६२ नम्बरको रोकिराखेको भारतीय ट्रकमा बोलेरो गाडी ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी नेपालगन्जका मृतक मुनब्बरकै छोरा इब्राइम हल्वाई तथा काठमाडौं घर भएका अमुन खड्का र संग्राम शाह गम्भीर घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि लखनउ लगिएको अर्यालले बताए ।

भारतीय प्रहरीका अनुसार दुर्घटना बहराइच जिल्लाको रिसिया भन्ने ठाउँमा बिहीबार बिहान भएको थियो । दुर्घटनाको एकिन कारण भने खुल्न नसकेको बाँके प्रहरीले जनाएको छ । मृतक मुनब्बर नेपालगन्जमा लामो समयदेखी ड्राईभिङ सेन्टर सञ्चालन गर्दै आएका थिए । मृतक मुनब्बर गत प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाल संघिय समाजवादी पार्टीबाट प्रत्यक्ष उम्मेदवार बनेका थिए ।