काठमाडौँ– राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट फरक–फरक उम्मेदवारी दर्ता भएको छ ।


ADVERTISEMENT


सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन् ।

त्यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहेका छन् ।

उम्मेदवारी दर्ता गराउदै सत्ता गठबन्धनतर्फका उम्मेदवार दाहालले आफूले दिएको योगदानको अनुसारको जिम्मेवारीका सन्दर्भमा उम्मेदवारी दिएको बताए । त्यस्तै उनले सामान्यतः प्रदेशको सह–इन्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष प्रचण्डसंग जोडेर हेरिने गरेको भन्दै आफुमाथि लागेको आरोप पहिलो नभएको जिकिर गरे ।

त्यस्तै कांग्रेस उम्मेदवार शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताए । उनले आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढङ्गबाट कार्यसम्पादन गर्ने जनाए ।

शर्माले पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रियसभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षका उम्मेदवार बनाएको धारणा राख्नुभयो । राष्ट्रियसभाको निर्वाचन मंगलबार हुँदैछ । राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित पहिलो दल रहेको छ ।

एमाले १०, एकीकृत समाजवादी ८ र जसपा ३ गरी सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा ३९ सांसद छन । राष्ट्रिय सभा अध्यक्षमा मनोनीत हुनका लागि ३० जना सांसद भए बहुमत पुग्छ । त्यस्तै कांग्रेससँग राष्ट्रिय सभामा १६ सांसद छन् भने लोसपाको १ सांसद छ ।