काठमाडौं-मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याई सकिएको जानकारी दिइयो । यसैगरी ६७० किमी वितरण सञ्जालमध्ये ६४४ किमी पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताएका छन् ।


ADVERTISEMENT


बजेट अभावका कारण धूम्रबाराही–महाराजगञ्ज–सामाखुसी–कलङ्की क्षेत्रको ३०० किमी क्षेत्रमा वितरण सञ्जाल स्थापना हुन सकेको छैन । यो क्षेत्रमा पाइप बिच्छ्याउन रु. आठ अर्ब बजेट आवश्यक पर्नेछ । बजेटका लागि एसियाली विकास बैंकसँग कुरा भइरहेको निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


पाइप बिच्छ्याउन भत्काइएको सडकमध्ये ६१ किमी सडक विभागलाई कालोपत्रका लागि सम्झौता भई काम शुरु भएको छ । विभागले रु.८५ करोडको लागतमा निर्माण एवं कालोपत्र गर्नेछ । १०० किमी सडक निर्माण एवं कालोपत्र भने निर्देशनालय आफैँले गर्नेछ । यसको लागत रु. एक अर्ब छ । भत्काइएकामध्ये २८ किमी सडक निर्माण सम्पन्न भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकादेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलसम्मको २७.५ किमी दूरी सुरुङमध्ये अब ३०० मिटर मात्र खन्न बाँकी छ । सुरुङको ३०० मिटरको काम सकेर भित्रको कामलाई अन्तिम रुप दिई चैत १५ अर्थात् मार्चको अन्तिमसम्ममा पानी उपत्यकामा खसाल्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ ।

उपत्यकामा पानी वितरण गर्न ८४ हजार २१७ घरमा धारा जडान गर्नुपर्नेमा हालसम्म ४५ हजार १८६ घरमा धारा जडान भइसकेको प्रवक्ता ढकालले सुनाएका छन् । सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि अत्याधुनिक प्रशोधन केन्द्र निर्माण भइसकेको छ । अर्को आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७/१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक पाँच घण्टासम्म र याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि चौबीसै घण्टा पानी वितरण गर्ने निर्देशनालयको लक्ष्य छ ।