काठमाडौं-भारत निकासीमा समस्या आएपछि करोडौँ रुपियाँको अदुवा सदरमुकामको म्याङलुङ बसपार्क नजिकै सडकमै राखिएको छ । यहाँका व्यापारीले सङ्कलन गरेको अदुवा निकासी ठप्प भएपछि गोदाममा र किसानको बारीमै थन्किएको हो ।


ADVERTISEMENT


जिल्लाका गाउँगाउँबाट सङ्कलित अदुवा व्यापारीले अटेसम्म गोदाममा राख्ने गरेका छन् भने नअटेको सडक पेटीमै थन्काएका छन् । निकासी ठप्प भएपछि जिल्लाबाट समेत अदुवा लिएर जान नपाएको व्यापारी अमृत निङ्लेकुले बताएका छन्। आफूसँग भएका सबै गोदाम भरिएर बाँकी रहेको अदुवा सडकमै भए पनि थुपारेर राख्नु परेको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


व्यापारीले काँटा गर्न आउने भनेपछि किसानले खनेर तयार पारेका अदुवाका बोरा गाउँगाउँमा बनेका कृषि सडकका किनारामा निकालिएको छ तर अदुवाको बिक्री घटेपछि व्यापारी नआउने पो हुन् कि भन्ने चिन्तामा कृषक देखिन्छन् । खनेपछि अदुवा बिग्रने भएकाले किसानलाई थप चिन्ताले सताएको छ भने व्यापारी पनि लगानी डुब्ने डरले पिरोलिएका छन् । खनेर निकालेपछि धेरै दिन राख्दा अदुवाको तौल पनि घट्ने र मूल्य पनि घट्ने किसानलाई चिन्ता छ । यसरी धेरै समय खुला ठाउँमा भण्डारण गरेर राख्नु पर्दा करिब १० प्रतिशत तौल कम हुने व्यापारी बताउँछन् ।

निकासी ठप्प हुँदा जिल्लामा करोडौँको अदुवा गोदाममै थन्किएर रहेको छ । त्यसैगरी भण्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा सडक पेटीमा थुपार्नु पर्दा दैनिक हजारौँ घाटा रहेको व्यापारीले गुनासो गरेका छन् । बजार क्षेत्रमा अदुवाका बोरा काटेर अदुवा चोरीसमेत हुने गरेको छ । गाउँमा भने अदुवाका बोरा खुला ठाउँमा राखेपछि चोरीको पीडा खेप्नु परेको छैन । बसपार्क नजिकै थुपारिएको करोडौँको अदुवाबाट दैनिक दुई/चार केजी बढी अदुवा नास भएर गइरहेको व्यापारीले बताएका छन् । गाउँमा अहिले अदुवा प्रतिकेजी रु. १६ देखि १८ का दरले कारोबार भइरहेको छ ।

बर्सेनि अदुवाको मूल्य र बजारमा समस्या देखिन थालेपछि किसान यसप्रति निराश बन्दै गएका छन् । किसानले अदुवा खेतीको विकल्पसमेत खोज्न थालेको बुझिएको छ । गत वर्ष जिल्लामा २६० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा खेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । नेपालमा उत्पादित अदुवाको मुख्य बजार भारत रहेको छ । अदुवा किसानका मागलाई सरकारले सम्बोधन गर्न नचाहेका कारण यसको खेतीप्रति किसान निराश हुनु परेको अदुवा व्यवसायीको भनाइ छ ।