काठमाडौं-एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन् । ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


प्रदेश ६ मा छलफल केन्द्रित
एमालेले चार र माओवादी केन्द्रले दुईवटा प्रदेश सरकारको नेतृत्व लिने भनिए पनि प्रदेश ६ मा दुवै दलले मुख्यमन्त्री दाबी गरेका छन् । राष्ट्रिय सभामा मतादाता संख्यालाई आधार मानेर बाँडफाँड गरिए पनि राजकीय मामिलाको पद बाँडफाँड ६०-४० कै अनुपात हुनुपर्ने दाबी गर्दै माओवादी केन्द्रले प्रदेश ६ मा स्वाभाविक नेतृत्व पाउनुपर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएको छ । तर, एमालेले भने त्यस क्षेत्रका पार्टी नेता र सांसदहरूको दबाबले विशिष्ट स्थिति उत्पन्न भएको भन्दै लचिलो बन्न माओवादीलाई आग्रह गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


यी हुन् मुख्यमन्त्रीका आकांक्षी
प्रदेश १: भीम आचार्य, शेरधन राई (एमाले)
प्रदेश २: (मधेसकेन्द्रित दलको बहुमत)
प्रदेश ३: अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, राजेन्द्रप्रसाद पाण्डे, सानुकुमार श्रेष्ठ र केशव स्थापित (एमाले)
प्रदेश ४: पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ (एमाले)
प्रदेश ५: शंकर पोखरेल (एमाले)
प्रदेश ६: महेन्द्रबहादुर शाही र नरेश भण्डारी (माओवादी), प्रकाश ज्वाला र यमलाल कँडेल (एमाले)
प्रदेश ७: वीरमान चौधरी र झपट बोहरा (माओवादी)

दुवै पार्टी अध्यक्षको निर्देशनअनुसार कार्यदलले शनिबार थप गृहकार्य गरेर प्रदेश सभा र प्रदेश सरकारको सिट बाँडफाँड टुंगो लगाउने भएको छ । एमाले नेता नेम्वाङले शीर्ष नेताहरूसँगको परामर्शका आधारमा सिट बाँडफाँड टुंगो लगाइने बताए । बिहीबारको बैठकमा प्रदेश मन्त्रिपरिषद्को आकारबारे समझदारी भएपछि कार्यदलले शीर्ष नेताहरूसँग शुक्रबार परामर्श गरेर सिट बाँडफाँड प्रस्ताव टुंगो लगाउने सहमति गरेको थियो । ओलीनिवासमा सिट भागबन्डामा केन्द्रित रहेर चार घन्टा छलफल भएको हो । आजको नयाँ पत्रिकाबाट