काठमाडौं-दुबै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले सगरमाथा चढ्ने तयारी गरेका छन् । बुढाले राजधानीमा पत्रकार सम्मेलन गरी आफू सगरमाथा चढ्ने अन्तिम तयारीमा रहेको जानकारी गराएका हुन् ।


ADVERTISEMENT


बेलायती सेनामा जागिर खाने क्रममा ८ वर्षअघि अफगानिस्तान स्थित हेलमान प्रान्तको आक्रमणमा परी दुबै खुट्टा गुमाएका बुढाले पूर्ण आत्मविश्वासका साथ सगरमाथा उक्लिने लक्ष्य बोकेका छन्। उनले सगरमाथा आरोहणका लागि १८ महिनादेखि तयारी गरिरहेका छन्।


ADVERTISEMENT

# # #


उनले यसअघि २०१६ मा सूर्य कुण्ड हिमाल नेपाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुँदै नेपालको थोराङलापाससम्म पुगिसकेका छन्। यी हिमालहरुको आरोहणपछि उनमा सगरमाथा चढ्ने आत्मविश्वास बढेको हो।

अपांगता भएकाहरु असक्षम हुँदैनन् भन्ने देखाउनको लागि आफू सगरमाथा चढ्न लागेको उनको भनाई छ। ‘मेरो सगरमाथा यात्रा अपांगता भएका व्यक्तिहरुको लागि प्रोत्साहन र नेपालको पर्यटन प्रवर्द्धनको लागि हो,’ उनले भने। ३ लाख ५० हजार डलर खर्चेर हिमाल चढ्न लागेका बुढाले आरोहणका क्रममा १४ जना शेर्पाहरु साथमा लैजाने छन्।

सगरमाथा चढ्नु अगाडि बुढाले अमेरिका र साईप्रसमा स्काई डाईभिङ, अमेरिका, क्यानडा, जर्मनी, अस्ट्रिया र नेपालमा अल्पाईन स्किईङ गरिसकेका छन् । नेपालमा स्किईङ गर्ने उनी पहिलो व्यक्ति हुन।