काठमाडौं-नेपाललाई ट्रान्जिट बनाएर थाइल्याण्डको राजधानी बैंककहुँदै तेश्रो मुलुक पठाउन खोजिएको एक किलो नौ सय ५८ ग्राम कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले बोलिभियन नागरिक फ्रेड्डी ममानी अन्डीया र थाई नागरिक खुन्जाई खनारातलाई ठमेलबाट नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


घटना सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनसीबी प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले भने, ‘अन्डीयाले बोलिभियाबाट लागूऔषध कोकिन बोकेर ल्याएका थिए । काठमाडौंमा उक्त कोकिन रिसिभ गर्न थाइल्याण्डबाट खुन्जाई आएकी थिइन् ।


ADVERTISEMENT

# # #


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पिछा गरेर नियन्त्रणमा लिन सफल भइयो’, एनसीबीका अनुसार अन्डीयाले सुटकेटभित्र फल्सबटम बनाएर कोकिन बोलिभियाबाट ब्राजिल हुँदै अफ्रिकन मुलुक इथियोपियाबाट भारतको दिल्ली हुँदै नेपाल ल्याएका थिए । अन्डीया पेशाले वर्कसपमा काम गर्ने भएपनि उनले साथीमार्फत् तीन हजार अमेरिकी डलर पाउने आशमा नेपालमा कोकिन बोकेर ल्याएका थिए। उनलाई बस्न र खानपीनको लागि बोलिभियाबाटै ठमेलमा होटलको व्यवस्था गरिएको थियो ।

थायी महिला खुन्जाई पनि पैसा पाउने आशमै आफ्ना ब्वाइफ्रेण्डको साथीमार्फत् कोकिन लैजान नेपाल आएकी थिइन् । बरामद कोकिनको अन्तराष्ट्रिय अबैध बजार मूल्य करिब चार करोड रुपैयाँ बराबर रहेको दाबी एनसीबीको छ । प्रहरीका अनुसार उक्त कोकिन अमेरिका, जापान, दक्षिण कोरियालगायतका मुलुकमा जाने तयारीमा थियो ।

एनसीबी प्रमुख डीआइजी राईका अनुसार खासगरी कोकिनको दुव्र्यसनी नेपालमा सुन्यजस्तै छन् । कारोबारीले नेपाललाई ट्रान्जिट मात्रै बनाउँदै आएका छन् । प्रहरीले यसअघि पनि कोकिनसहित बोलिभियन महिला रोस्सी गुड्डी टोलेडोलाई तीन किलो ५५ ग्राम र अर्का बोलिभियन नागरिक एडम्बर एनेज लोपेजलाई दुई किलो सात सय ग्राम कोकिनसहित पक्राउ गरेको थियो ।