काठमाडौं-सरकारले जनकपुरलाई प्रदेश नम्बर २ को अस्थायी मुकाम तोकेपछि वीरगन्जमा आन्दोलन सुरु भएको छ । मधेस आन्दोलनको केन्द्रको रूपमा रहेको वीरगन्जवासी प्रादेशिक राजधानीको विषयलाई लिएर फेरि आन्दोलित भएका हुन् ।


ADVERTISEMENT


वीरगन्जलाई प्रदेश २ को प्रादेशिक राजधानी बनाउनुपर्ने माग राखेर १३ दिनदेखि रिले अनशन गर्दै आएको संघर्ष समितिले सरकारी निर्णयको विरोधमा बुधबार साँझ वीरगन्जमा प्रदर्शन गरेको छ । संघर्ष समितले बुधबार साँझदेखि नै अनिश्चितकालीन वीरगन्ज बन्दको आह्वान गरेको छ ।


ADVERTISEMENT

# # #


संघर्ष समितिले वीरगन्जको घन्टाघरमा बुधबार साँझ ६ बजेदेखि टायर बालेर विरोध प्रदर्शन सुरु गरेको छ । प्रदर्शनको नेतृत्व संघर्ष समितिका सहसंयोजक एवं पूर्वसांसद राजकुमार गुप्ताले गरेका छन् । प्रदर्शनकारीले बुधबार साँझ नम्बर नखुलेको सरकारी गाडीमा तोडफोड गरेका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै गुप्ताले मधेस आन्दोलनको केन्द्र रहेको वीरगन्जलाई राजधानी नतोकेर सरकारले वीरगन्जवासीमाथि अन्याय गरेको आरोप लगाए । ‘सरकारले वीरगन्जका नागरिकमाथि अन्याय गरेको छ, अब झन् ठूलो संघर्षको आवश्यकता देखियो,’ गुप्ताले भने, ‘जबसम्म वीरगन्जलाई प्रदेशको राजधानी बनाइँदैन, तबसम्म आन्दोलन जारी रहन्छ ।’

अनिश्चितकालीन बन्द आह्वान
प्रदेश नम्बर २ को राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै संघर्ष समितिले बिहीबारदेखि अनिश्चितकालीन पर्सा बन्दको आह्वान गरेको छ । वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै १३ दिनदेखि स्थानीय रिले अनशनमा बस्दासमेत सरकारले बेवास्ता गरेकाले पर्सा बन्दको आह्वान गरिएको संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले बताए ।

बन्दको क्रममा एम्बुलेन्स, दमकल, कूटनीतिक नियोगका सवारीसाधन, दूधको गाडी, औषधि बोकेका सवारी र सञ्चार माध्यमको सवारीसाधन मात्रै चल्न दिने जनाइएको छ । उद्योग, व्यापार, कलकारखाना, शैक्षिक संस्था, यातायातलगायत बजार पूर्ण रूपमा ठप्प पार्ने संघर्ष समितिले घोषणा गरेको छ ।

आन्दोलनमा चिकित्सकको ऐक्यबद्धता
वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन गरिएको आन्दोलनप्रति वीरगन्जका चिकित्सकहरूले ऐक्यबद्धता जनाएका छन् । घन्टाघरमा जारी रिले अनशनको १३औँ दिन चिकित्सक अगुवाहरू ऐक्यबद्धता जनाउँदै अनशनमा बसेका हुन् ।

डा. जगदीश अग्रवाल, डा. रामऔतार खेतान, डा. नीरज सिंह, डा. राजदेव कुशवाहा, डा।.पन्नालाल पटेल, डा. उदयनरायण सिंह, डा. राकेश तिवारी, डा. दिलीपकुमार चौरसिया, डा. दीपक कुशवाहालगायत चिकित्सक बिहीबार अनशनमा बसेका थिए ।

फोरम र राजपाको विरोध
संघीय समाजवादी फोरम र राजपाको गठबन्धनले सरकारले जनकपुरलाई प्रदेशको अस्थायी मुकाम तोकेकोप्रति विरोध जनाएको छ । सरकारी निर्णय मधेस आन्दोलनको मर्मविपरीत रहेको फोरम र राजपा पर्साले जनाएका छन् । सरकारले प्रदेश नम्बर २ को अस्थायी मुकाम जनकपुरलाई घोषणा गरेकोप्रति निन्दा गर्दै दुई दलले अविलम्ब निर्णय सच्याउन माग गरेका छन् ।

संघीय फोरम पर्साका अध्यक्ष एवं सांसद प्रदीप यादव तथा राजपा महासचिव शिव पटेलले बुधबार संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै वीरगन्जलाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरेका हुन् । ‘पहिलो र दोस्रो मधेस आन्दोलन तथा नाकाबन्दीमा वीरगन्जले खेलेको अग्रणी भूमिका, भौतिक संरचनाकोे पर्याप्तता, देशको मुख्य नाका र आर्थिक नगरी वीरगन्जलाई प्रदेशको राजधानी हुनबाट वञ्चित गर्ने सरकारको निर्णयले यस क्षेत्रका जनतालाई मर्माहत बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।