काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानविनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न ढिलाई गरिरहेको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन गदैं ओलीले सरकार सुन तस्करीको छानविन गर्न नहुने अडानमा रहेको र छानबिन आयोग गठन गर्न ढिलाई गरिरहेको आरोप लगाएका हुन् । उनले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गरे । ओलीले छानविन गर्नका लागि आयोग आवश्यक रहेकाले शक्तिशाली बनाउनुपर्ने बताए ।
उनले विधुतिय चुरोटबाट आएका सुन लगाएतका तस्कारीमा सरकारमा बस्नेको नै हात रहेको जिकिर गरे । ६ बर्ष अघिदेखि नागरिकता दिएर नै तस्कर तयार गरेको तर्क गर्दै उहाले सुन कारोवारमा अरवौंको लगानी गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने बताए । ओलीले प्रचण्डलाई गिरिबन्धु टिस्टेटको फाइल खोल्न पनि चुनौती दिँदै त्यसप्रति एमालेलाई कुनै त्रास नरहेको धारणा राखे ।
एमालेले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिनको माग राखेर अवरोध गर्दा संसद् चल्न नदिइएको आरोप लगाइएको उल्लेख गर्दै ओलीले अहिले प्रधानमन्त्री विदेश जाँदा १७ दिनसम्म संसद् स्थगन हुनुले जनताका आवाज प्रस्तुत हुन नपाएको बताए । उनले आफू सरकारमा हुँदा विप्लव र सिके राउतको समूहलाई वार्तामार्फत नै शान्तिपूर्ण गतिविधिमा ल्याएको भन्दै विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका प्रावधानमा शिक्षकका असन्तुष्टिलाई वार्तामार्फत सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै अध्यक्ष ओलीले सहायक रथी यम बहादुर अधिकारीको म्याद थप गरेर वर्तमान सरकारले सेनामा समेत बेथिती सुरु गरेको आरोप लगाए । ओलीले कार्यकर्तालाई आत्मकेन्द्रित नभई सबल राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । नेतृत्व समेत चयन गर्ने अधिवेशनमा करिब एक हजार दुई सय प्रतिनिधि सहभागी रहेका छन् । उद्घाटन समारोहमा नेताहरुले सकेसम्म सहमति र नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।