एजेन्सी – विगतका केही दिनदेखि भारत र क्यानडाबीचको सम्बन्धमा आएको तिक्तता अझै गहिरिँदै गएको छ । दुई देशले एक अर्कोलाई आरोप–प्रत्यारोप र कारबाही–प्रतिकारबाही गरिरहेका छन् ।


ADVERTISEMENT


यस्तो लाग्छ, विश्व अर्थतन्त्रका यी शक्ति राष्ट्रबीचको तिक्तताले विश्वमा एक नयाँ द्वन्द्व सिर्जना गर्न खोजिरहेको छ । भारत र क्यानडाबीचको यो विवाद र वैमनश्यताको पृष्ठभूमि भने खलिस्तान आन्दोलन र हरदीपसिंह निज्जरको हत्यामा गएर जोडिएको छ ।


ADVERTISEMENT

# # #


के हो खलिस्तान ? को हुन् हरदीप सिंह निज्जर ?

खलिस्तान सिख समुदायको एक पृथकतावादी आन्दोलन हो । जसले भारत र पाकिस्तानको पञ्जाव क्षेत्रमा खलिस्तान नामक एक जातीय–धार्मिक सार्वभौम राज्य स्थापना गरेर सिखहरूको लागि मातृभूमि बनाउनुपर्ने माग राखिरहेको छ । भारतमा बेलायती शासन हुँदा नै सुरु भएको यो आन्दोलनलाई सिख समुदायका व्यक्तिहरुले समर्थन गर्दै आएका छन् । पछिल्लो समय क्यानडामा यो आन्दोलनले निकै उग्र रुप लिइहरको छ । तर, भारतले भने यसलाई आतंकवादी गतिविधिको संज्ञा दिइरहेको छ ।

हरदीप सिंह भारतको जलन्धारमा जन्मिएका एक क्यानडेली नागरिक हुन् । जो १९९० को दशकमा क्यानडा छिरेका हुन् । त्यसअघि उनी शरणार्थीका रुपमा क्यानडा जाने आवेदन दिए पनि उनको आवेदन स्वीकृत भएको थिएन । त्यसपछि उनी एक महिलासँग बिहे गर्दै क्यानडा पुगेका थिए । उनी क्यानडामा खलिस्तान आन्दोलनमा सक्रिय थिए ।

खलिस्तानका प्रमुख सदस्य थिए । जसकारण उनी भारतका शीर्ष ४० आतंकवादीको सूचिमा परेका थिए । निज्जर सन् २०१५ मा क्यानडाको नागरिक बनेका थिए । गत वर्ष नै क्यानडाको खुफिया एजेन्सीले निज्जरको हत्याको योजना बनिरहेको भन्दै सरकारलाई सचेत गराएको थियो । तर, गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरु नानक सिख गुरुद्वाराको पार्किङ स्थलमा निज्जरलाई दुईजना मुकुटधारीले गोली हानी हत्या गरेका थिए ।

आरोप-प्रत्यारोप र कारबाही-प्रतिकारबाही

गत सेप्टेम्बर ९ र १० मा भारतमा भएको जी–२० सम्मेलनमा सहभागिता जनाउन क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो भारत आएका थिए । भ्रमणका क्रममा उनले भारतसँग द्विपक्षीय वार्ताका लागि प्रस्ताव गरे पनि भारतले अस्वीकार गरेपछि भारतीय प्रधानमन्त्री मोदीसँग ट्रुडोको ‘साइड लाइन’ वार्ता भएको थियो । सोक्रममा ट्रुडोले निज्जरको हत्यामा भारतीय संलग्नता रहेको आरोप लगाएका थिए । उक्त आरोपलाई ट्रुडोले गत सोमबार झन् मुखरित गरे ।

‘क्यानडा एक विधिको शासन अनुसार चल्ने देश हो । हाम्रा नागरिकको सुरक्षा र हाम्रो सम्प्रभुताको रक्षा सबैभन्दा महत्वपूर्ण प्राथमिकता हो ।’ गत सोमबार क्यानडाको संसदमा सम्बोधन गर्दै उनले भने, ‘क्यानडाको भूमिमा क्यानडाका कुनै पनि नागरिकको हत्यामा विदेशी सरकारको भूमिका हाम्रो सार्वभौमसत्ताको यस्तो उल्लंघन हो, जसलाई स्वीकार गर्न सकिन्न ।’

उनले निज्जर हत्याको दोषीलाई कारबाही गर्न क्यानडा सरकार कुनै पनि हालतमा पछि नपर्ने बताए । यस विषयमा जी–२० सम्मेलनका क्रममा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराएको भन्दै उनले यस हत्याको जरोसम्म पुग्नका लागि भारतले सहयोग गर्नुपर्ने बताए ।

यद्दपि भारतले ट्रुडोको यो आरोपलाई अस्वीकार गर्दै आपत्ति समेत जनाएको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडाका प्रधानमन्त्रीले संसदमा जे भनेका छन्, त्यसलाई हामी खारेज गर्छौं । क्यानडाले कुनै पनि प्रकारको हिंसामा भारत सरकारको संलग्नता रहेको बताउनु हास्यास्पद हो ।’ भारतले खतिस्तानी आन्दोलनलाई आतंकवादको संज्ञा दिँदै क्यानडाले त्यसलाई संरक्षण गरेको र त्यो भारतीय सम्प्रभुता र अखण्डताविरुद्ध रहेको बताएको छ ।

तर, क्यानडाले एक कदम अघि बढेर निज्जरको हत्याको अनुसन्धान गर्ने भन्दै एक भारतीय कुटनीतिज्ञलाई देश निकाला गरिदियो । जवाफमा भारतले पनि एक क्यानडाका वरिष्ठ कुटनीतिज्ञलाई भारतबाट निकालाको घोषणा गरेको छ ।

भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘सम्बन्धित कुटनीतिज्ञलाई ५ दिनभित्र भारत छोड्न निर्देशन दिइएको छ ।’ ती कुटनीतिज्ञले भारतको आन्तरिक मामलामा हस्तक्षेप गरेको र भारत विरोधी गतिविधि गरेको आरोप लगाइएको छ । यस प्रकरणले दुई देशबीचको सम्बन्धलाई इतिहासकै एक कठिन मोडमा पुर्याउने संकेत गरेको छ ।

दुवै देशले जारी गरे सतर्क निर्देशिका

दुबै देशले एकअर्काका देशमा रहेका आफ्ना नागरिकका लागि सुझाव निर्देशिका जारी गरेका छन् । जसअनुसार क्यानडाले भारतमा रहेका आफ्ना नागरिकलाई भारतका निश्चित क्षेत्रमा नजान सुझाव दिएको छ ।

यस्तै भारतले पनि आज मात्रै क्यानडामा रहेका आफ्ना नागरिकताका लागि सुझाव निर्देशिका जारी गरेको छ । भारतीय विदेश मन्त्रालयले विशेषगरी क्यानडामा अध्ययनका क्रममा रहेका भारतीय विद्यार्थीलाई लक्षित गर्दै सतर्क रहन र भारतविरोधी गतिविधि भइरहेका ठाउँमा नजान भनेको छ ।

भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडामा बिग्रँदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय विद्यार्थीहरूलाई बढी सतर्क रहन सुझाव दिइएको छ । भारतीय समुदाय र विद्यार्थीहरूले उच्चनियोग र वाणिज्य दूतावासको वेबसाइटमा गुनासो गर्न सक्नेछन्।’

क्यानडामा १४ देखि १८ लाख भारतीय मुलका व्यक्ति बसोबास गर्छन् । पञ्जाव बाहेक सिख समुदायका व्यक्ति सबैभन्दा धेरै क्यानडामा नै रहेका छन् ।

के चाहन्छन् क्यानडा र भारत ?

मंगलबार राति क्यानडाको सबैभन्दा ठूलो अखबार ‘टोरन्टो स्टार’ले राष्टपति ट्रुडोको बयान जारी गरेको छ । जसमा ट्रुडोले क्यानडा सरकारले भारतसँग तनाव बढाउन नचाहेको तर भारतले आफूहरुले उठाएका विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताका छन् ।

यता भारतले भने क्यानडाले आतंकवादी र अतिवादीलाई प्रशय दिएर राखेको जनाएको छ । साथै क्यानडाको भूमिमा सञ्चालन हुने भारतविरोधी गतिविधि रोकिनुपर्ने उसको भनाई छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘क्यानडाले खलिस्तानी आतंकवादीलाई प्रशय दिनु भारतीय अखण्डता र सम्प्रभुताका लागि खतरा हो । ’ क्यानडाले भने प्रत्येक व्यक्तिलाई अभिव्यक्ति र शान्तिपूर्ण आन्दोलनको स्वतन्त्रता रहेको भन्दै भारतको भनाईलाई अस्वीकार गर्दै आएको छ ।

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले आजै विदेशमन्त्री एस जयशंकरसँग गम्भीर वार्ता गरेका छन् । साथै यो विषयले भारतीय संसदमा समेत प्रवेश पाएको छ ।