काठमाडौं-संखुवासभा–सांसद राजेन्द्र गौतम, प्रदेश सांसद पूर्णप्रसाद राई समेतको टोली फरकफरक गाडीमा थिए । उनीहरुको पछिपछि बा ५ च १३०९ नम्बरको सेतो जीप थियो ।


ADVERTISEMENT


त्यो सेतो जीपमा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनीयर सुदीप ढकाल, जिल्ला समन्वय समितिका सूचना अधिकृत सुभाषचन्द्र कुईकेल र चालक कृष्ण श्रेष्ठ सवार थिए ।


ADVERTISEMENT

# # #


मकालु्–३ मा पर्ने एक होटलमा खाना खाएपछि आईतबार करिव सवा १० बजे तिर भोटखोला गाउँपालिकाको हटियामा पर्ने बरुण दोभान तर्फ जीप अघि बढाउने तरखर भयो । पहिला गाउँकै लक्ष्मण राई र पूरन राई सेतो गाडीमा चढ्न खोजे । ६ जना अटाउने जीपमा पाथीभरा हेदांनाका सुरेश राईले म गाउँपालिका अध्यक्षसँग विकास निर्माणको गफ गर्दे जान्छु भनेपछि लक्ष्मण र पूरन बाहिरिए । लक्ष्मण सांसद गौतम र पूरन प्रदेश सांसद राई चढेको गाडीमा बसे ।

गाडी अघि बढेको १५ सय मिटर पुग्दानपुग्दै सामाटारको घुम्तिबाट जीप अरुणमा खस्यो । हामी त्यो घुम्ति कटिसकेका थियौं । पछिपछि आइरहेको जीप दुईपटक जति बजारिएर अरुणको बगरमा खस्यो । हतारहतार गर्दै सडकबाट हेर्दा जीप कच्याककुच्चुक भइसकेको थियो । ३ सय मिटर जति तल अरुणको बगरमा सोतो गाडी देखिएपछि हामी अलैंचीबारी हुँदै जीप भएको स्थानमा पुग्यौं । जीपमा सवार सबैको ज्यान गइसकेको थियो ।

गाउँपालिका अध्यक्ष कटुवालको एउटा खुट्टा अरुणमा हल्का डुबेको थियो, आधा शरिर बाहिर थियो । उहाँलाईमात्रै हामीले चिन्यौं, प्रहरी कार्यालय र सेनाको ब्यारेक टाढा भएकाले उनीहरुलाई आउन केही समय लाग्यो । प्रहरी र सेना आएपछि सबै शव जीप भित्रै भएकाले सडकमा काम गर्नेहरुको सामाग्री प्रयोग गरेर झ्याल र हुट काटेर निकालियो ।

भूकम्पको कागजपत्र जताततै छरपष्ट थियो । घुम्ति सानो भएको र भीरको बाटो भएकाले तारजाली र ढुंगाको गाह्रो उठाउन खनिएको स्थानमा चालक झुक्किए जस्तो लाग्छ । दिन बलियो थियो हामी बाँच्यौं । ओरालो लागेर घुम्ति आउने बेलामा चालकले सीधाबाटो देखेको हुनसक्छ । नयाँ चालक काठमाडौंबाट पहिलो पटक आएको र कच्ची सडकमा अनुभव नभएकाले दुर्घटना भएको हो जस्तो छ । चालकले कच्ची सडकमा अप्ठेरो भएको पटकपटक भन्दै आएका थिए ।

मकर नुहाउन गएका सांसद गौतम, प्रदेश सांसद राईसहितको टोली घटनास्थलबाट हेरेर सदरमुकाम फर्किए । सोमबार ६ जनाको शव मध्ये गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र सुरेश राई र कुईंकेलको शव एमाले पाटी कार्यालयमा श्रद्धाञ्जली दिइयो । कटुवाल र राईको शव हेलिकप्टरबाट नुम लगेर अन्तिम संस्कार गरियो । कुईंकेलको शव खाँदबारी–९ स्थित मनकामनामा लगेर अन्तिम संस्कार गरियो ।

काठमाडौंबाट आएका समाजशास्त्री बस्नेत, इन्जिनीयर ढकाल र चालक कृष्ण श्रेष्ठको शव हेलिकप्टरबाट राजधानी लगियो । दुर्घटना भएको जीप स्थानीय विकास मन्त्रालय अन्तरगत केन्द्रिय आयोजना कार्यान्वयन इकाईको थियो ।