काठमाडौं-नुवाकोटमा यस वर्षको माघे संक्रान्तिमा ३४ हल गोरु जुधाइने भएको छ । तारुका र बेत्रावती र पञ्चकन्यामा हरेक वर्ष माघे संक्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका २, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे संक्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन्।


ADVERTISEMENT


तारुकेश्वर-२ का वडाध्यक्ष समरबहादुर आलेमगरले गोरुजुधाइ मेला सञ्चालनको तयारी पूरा भएको बताए। उनका अनुसार गाडी पार्किङस्थल, शौचालय, गोरु जुधाइ जात्रामा सहभागी हुनेका लागि सहज रूपमा पिउने पानीको व्यवस्था र सस्तो मूल्यमा खाजा तथा खानाको उपलब्धता, जात्रा हेर्न तारुकाघाटबाट जाने सडकमा ट्यांकरमार्फत पानी छ्यापेर धुलोमुक्त सडक बनाउने व्यवस्था मिलाइएको छ।


ADVERTISEMENT

# # #


माघ १ गते अवलोकनकर्तालाई सहज बनाउन गल्छी(देवीघाट सडकखण्ड दिनभर नै खुला गराउन गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रु-रसुवागढी सडक योजनासँग सहमति लिएको वडाअध्यक्ष आलेमगरले जानकारी दिए । मेलामा विजेता गोरु धनीलाई पाँच हजार रुपैयाँ र प्रमाणपत्र तथा उपविजेतालाई तीन हजार रुपैयाँ पुरस्कार तोकिएको छ ।

तारुकाका विभिन्न स्थानमा गोरु जुधाएर मनोरञ्जन लिने परम्पराबाट २०६० सालदेखि चन्दनीको बारीको ठूलो पाटोमा व्यवस्थित रूपमा गोरु जुधाउन थालिएको हो ।

उता, विदुर नगरपालिका-१०, बेत्रावतीमा पनि गोरु जुधाउने तयारी पूरा भएको छ । यो वर्ष जुधाउनका लागि १० हल गोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए। यस्तै पञ्चकन्या गाउँपालिकाको पञ्चकन्यामा गोरु जुधाउनका तयारी पूरा भएको आयोजकले जनएको छ । पञ्चकन्यामा ६ हल गोरु जुधाइने भएको छ ।