काठमाडौँ– नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले प्रहरीमाथि कार्वाही गर्न माग गर्दै मंगलबार राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ।


ADVERTISEMENT


पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका आफ्ना संगठनका नेता, कार्यकर्तामाथि दमन गरी घाइते बनाउने प्रहरीमाथि कार्वाही गर्न माग गर्दै अनेरास्ववियूले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको हो। यही पुस १८ गते काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि मूल्य वृद्धिको विरोध तथा निर्वाचनको परिणाम तत्काल सार्वजनिक गर्न माग गर्दै सडक आन्दोलन गरिरहेका विद्यार्थीहरूमाथि प्रहरीले लाठी चार्ज गर्दा अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौला, महासचिव ऐन महर, नेता शेखर बोहरा लगायत घाइते भएका थिए।


ADVERTISEMENT

# # #


शान्तिपूर्ण रूपमा आन्दोलनमा उत्रिएका विद्यार्थी नेताहरूमाथि नै प्रहरीले लाठी लार्ज गरी घाइते बनाएकाले दोषीमाथि कार्वाही गरी पीडितलाई न्याय दिन मानव अधिकार आयोगमा खबरदारी गर्नुपरेको अनेरास्ववियूकी अध्यक्ष नविना लामाले जानकारी दिइन्।

यता, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले घटनाबारे जानकारी भइसकेको उल्लेख गर्दै दोषीमाथि कार्वाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे। उनले आयोग आफ्नो सम्बैधानिक दायित्व पूरा गर्न सदैव क्रियाशील रहेको बताए।

अनेरास्ववियूले शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गर्नु न्यायसम्मत नभएको भन्दै न्यायका लागि अदालत समेत जाने तयारी गरेको छ ।