काठमाडौं-प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फको नामावलीलाई अन्तिम रुप दिन निर्वाचन आयोगले दलहरुलाई प्रदान गरेका एक साताको समय आज सकिदैछ ।


ADVERTISEMENT


आयोगले आज अपरान्ह ३ बजेसम्म अन्तिम सुची बुझाउने समय तोकेको छ । आयोगले दलहरुले प्रदेशसभाको समानुपातिक तर्फ प्राप्त गरेको सिट बाँडफाँड गरी सांसदको सुची पठाउन गत साता दलहरुलाई पत्र पठाएको थियो ।


ADVERTISEMENT

# # #


दलहरुले आफ्नो केन्द्रीय कार्यसमितीबाट अनुमोदन गर्दै आयोगलाई आफुले प्राप्त गरेको सिट संख्याका आधारमा क्लस्टर मिलाएर सूची बुझाउनुपर्नेछ । विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी लगायत केही साना दलले आयोगमा सूची बुझाएपनि ठूला दलहरुले आज मात्र सुची बुझाउने तयारी गरेका छन् ।

हिजै समानुपातिकतर्फ प्रदेशसभा सदस्यको टुङ्गो लगाएको नेकपा एमालेले आज आयोगलाई सूची बुझाउँदैछ । नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै नामावलीलाई अन्तिम रुप दिएका छैनन् ।

ती दलले आजै नाम टुङ्गो लगाई आयोगमा बुझाउने तयारी गरेका छन् । दलहरुले बुझाएको सूचीमा प्रक्रिया मिले: नमिलेको रुजु गर्दै नमिलेको भए पुन: ३ दिनको समय दिने निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले जानकारी दिए ।

त्यसपछि मात्र प्रदेशसभाअन्तर्गत समानुपातिक तर्फको अन्तिम परिणाम सार्वजनिक हुनेछ । प्रदेशसभाको समानुपातिकमा २ सय २० सांसद चुनिनेछन् ।