काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बालाई सेवाग्राहीसँग बुझेको घूससहित बिहीबार रंगेहात नियन्त्रणमा लिएको छ । भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमलाई सेवाग्राहीसँग बुझेको ६ हजार रुपैयाँसहित अख्तियारले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेका अनुसार नासु गौतमले भक्तपुरको सूर्यविनायक नगरपालिका ७ एवं साविक गुण्डु गाविस ५ वडास्थित जग्गाको लालपुर्जामा मोहीको नाम हटाउन सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस मागेका थिए ।


ADVERTISEMENT

# # #


तर मोलमोलाई गर्दागर्दै ६ हजार रुपैयाँमा कुरा मिलेपछि सेवाग्राहीले अख्तियारलाई समेत जानकारी दिई बिहीबार उक्त रकम गौतमलाई थमाएका थिए । सेवाग्राहीले घूसवापतको रकम गौतमलाई थमाएलगत्तै अख्तियार टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

‘नायब सुब्बा गौतमले लालपुर्जाबाट मोहीको नाम हटाउन सुरुमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस मागेका रहेछन्’, प्रवक्ता पाण्डेले भने, ‘मोलमोलाई गरेपछि ६ हजार रुपैयाँमा कुरा मिलेको रहेछ । सोहीअनुसार हामीलाई खबर आयो र हाम्रो रोहबरमा सेवाग्राहीले नासु गौतमलाई ६ हजार रुपैयाँ घूस दिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएका हौं ।’

उनका अनुसार सेवाग्राहीको ३५ आना तीन पैसा जग्गाको लालपुर्जामा मोही हटाउन भनी नायब सुब्बा गौतमले सेवाग्राहीसँग घूस मागेका हुन् ।